सामसुङका जी फ्लिप र जी फोल्ड मोडलका मोबाइलमा विक्रेताहरू कै गुनासो

सामसुङका जी फ्लिप र जी फोल्ड मोडलका मोबाइलमा विक्रेताहरू कै गुनासो

पोखरा । पोखरामा मोबाइल विक्रेताले सामसुङ मोबाइलको जी फोल्ड र फ्लिप सेरिजमा समस्या रहेको बताएका छन् ।

मंगलबार पोखरामा गण्डकी धौलागिरि क्षेत्रका विक्रेताहरूको उपस्थितिमा सामसुङ नेपालले आयोजना गरेको रिटेलर मिट (विक्रेता भेटघाट) मा मोबाइल विक्रेताहरूले प्रयोगकर्ताका रूपमा आफैले भोगेका समस्या व्यक्त गरेका हुन् ।

नयाँ मोडल ग्यालेक्सी जी फ्लिप ५ र जी फोल्ड ५ सार्वजनिक गर्ने उद्देश्यसहित आयोजना भएको उक्त कार्यक्रममा विक्रेताहरूले यी सिरिजका अघिल्ला मोडलमा देखिएका समस्यालाई सामसुङ नेपालका प्रतिनिधिहरू समक्ष दर्साए।

२० जना भन्दा बढी रिटेलरहरु सहभागी रहेको कार्यक्रममा विक्रेताहरूले सामसुङ मोबाइलका यी सिरिजमा स्क्रिन, र फोल्डलगायतका समस्या रहेको बताए ।

आफूले विगत लामो समयदेखि सामसुङ मोबाइल विक्री गर्दै आएको र प्रयोगकर्ता पनि भएको बताउँदै एक विक्रेताले आफूले प्रयोग गरेको जी फोल्ड ३ मोबाइलमा किनेको ८ महिना मै फोल्ड गर्दा मोबाइल अन ब्यालेन्स हुने र बाङ्गो देखिने समस्या आएको बताए ।

उनले आफ्नो मोबाइल हातमा देखाएर प्रश्न गर्दै भने ‘ मैले यो मोबाइल किनेको सात/आठ महिना मै फोल्ड गर्दा मोबाइल अन ब्यालेन्स हुने र बाङ्गो देखिने भयो । यसको समाधानको उपाय के हो ? किन यस्तो भयो ? ‘

उनले यस अघिका सुरुवाती मोडलहरूमा फोल्ड/अन्फोल्डको क्षमता ५ लाख पटक भन्ने गरेकोमा अहिले सुधार हुनुपर्नेमा झन् घटेर २ लाख पटक भनिएकोले शङ्का उब्जिएको बताए ।

यस्तै अर्का एक विक्रेताले आफूले प्रयोग गरेको मोबाइल र ग्राहकलाई बेचेका मोबाइलमा समेत स्क्रिन छिट्टै बिग्रिने समस्या देखिएको बताए । उनले आफूले प्रयोग गरेको मोबाइल मात्र नभएर आफूले बेचेका तथा बजारमा उपभोक्ताको हातमा रहेका मोबाइलमा समेत स्क्रिन छिट्टै टुट्ने फुट्ने तथा बिग्रिने गरेको गुनासो देखिएको बताए ।

अर्का विक्रेताले ग्यालेक्सी जी फ्लिप र जी फोल्ड सिरिजको पाँचौँ मोडेल सम्म विकसित हुँदा समेत पुराना मोडलका मोबाइलमा देखिएका समस्याहरू सुधार हुन नसकेको बताए । उनले फोल्ड अन्फोल्ड गर्दा बीच भागमा देखिने लाइन हटाउनका लागि उल्लेखनीय सुधार हुन नसकेको बताए ।

नयाँ प्रडक्ट सार्वजनिक गर्न गरिएको कार्यक्रममा विक्रेताहरूले नै गुनासो गर्ने क्रम नरोकिएपछि सामसुङ नेपालका प्रतिनिधिले मिडिया र  पत्रकारको अघि प्रश्न नगरिदिनुस पछि छुट्टै कुरा गरौला भनेर बोल्न रोकेका थिए ।

कार्यक्रममा ग्यालेक्सी ग्यालेक्सी जी फ्लिप ५ र जी फोल्ड ५ सार्वजनिक गर्दै सामसुङ नेपालका प्रडक्ट म्यानेजर रबी क्षेत्रीले दुवै मोडलका विशेषताहरू बताएका थिए।

ग्यालेक्सी जेड फ्लिप ५ मिन्ट, लाभेण्डर र कालो गरी तीन प्रकारका रङ्गहरूमा उपलब्ध रहेको उनले बताए । आठ जिबि र्‍याम र २५६ जिबि स्टोरेज क्षमता रहेको यो मोबाइलको मूल्य कम्पनीले एक लाख ३९ हजार ९९९ तोकेको छ ।

ग्राहकहरूले यो सेट प्रि–अर्डर गर्दा पाँच हजार रुपैयाँ थपेर २४ इन्चको सामसङ मनिटर अथवा दुई हजार थपेर सामसङ ए ७ लाइट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै ग्यालेक्सी जेड फोल्ड १२ जिबि मेमोरीसहित २५६ जिबि र ५१२ जिबि स्टोरेज क्षमतामा कालो र लाइट निलो गरी दुई वटा रङमा उपलब्ध रहेको प्रडक्ट म्यानेजर क्षेत्रीले बताए ।

२५६ जिबि क्षमता भएको सेटको मूल्य २ लाख २६ हजार ९९९ रुपैयाँ र ५१२ जिबि क्षमताको मूल्य २ लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रडक्ट म्यानेजर क्षेत्रीका अनुसार यो मोडलको प्रि–अर्डरमा ग्राहकहरूले फोन करभसँगै प्रि मेमोरी अपग्रेड अथवा तीन हजार रुपैयाँ थपेर २४ इन्चको सामसङ मनिटर अथवा ४० हजार रुपैयाँ थपेर ४७ एमएमको ग्यालेक्सी वाच ६ क्लासिक प्राप्त गर्न सक्नेछन् ।

सामसुङले एक पटकको लागि एनएलजि इन्सुरेन्ससँगको सहकार्यमा ब्रेकेज बिमा तथा प्रोटेक्टिभ फिल्म बदल्ने सेवा उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्