काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार र अनैतिकताको चाङमाथि बसेका प्रधानमन्त्री स्वयंलाई सत्ताको नेतृत्व गर्न लाजमर्दो हुनुपर्ने बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रधानमन्त्री आफैले पनि राजीनामा गर्न उचित हुने सुझाव दिए ।
उनले भने ‘ प्रधानमन्त्रीलाई पनि यति अयोग्य ,नालायक र भ्रष्टचारको चाङमाथि म नेतृत्व गर्छु भन्न अपठ्यारो लाग्नुपर्ने हो । उहाँले आफै राजीनामा गर्नुपर्ने हो । गृहमन्त्री र अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको हो । आश्चर्यको विषय हो यो । त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो यो, यो जिम्मेवारी बिल्कुल बहन नगरेर फेरी पनि मन्त्री भएर राष्ट्रिय झण्डा हल्लाएर हिड्न अप्ठयारो लाग्दैन् ?’
ओलीले चुरोट भनेर ल्याएको बट्टा सुनको ठहर हुँदा त्यसमा गृहमन्त्री जवाफदेही हुने कि नहुने भनेर प्रश्न समेत गरे।
उनले भने ‘ गृहमन्त्रीले त खासमा रोस्टममा उभिन जानु, आफै राजीनामा गर्नु बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन् भनेर राखेको ठाउँबाट चोरी हुन्छ, गृहमन्त्री जवाफदेही होईन त्यो ? गृहमन्त्री ज्यू क्वीन्टलका क्वीन्टल सुन एउटा माध्यमबाट एउटा कम्पनीले ल्याएको छ, यस्तो कति छ ? त्यस्तालाई कसको सिफारिसमा कसले दियो नागरिकता ? त्यतिबेलाको प्रतिबेदन कहाँ गायब गरिएको छ । यो त तार काट्ने, क्यमामेराको मुन्टो अर्कोतिर फर्काउने, घाँटी कर्माउने कस्तो सरकार हो यो ? कुरा ठूलो गर्ने अनि देशको मायाँ छैन् २- ४ जना स्वार्थी तत्वको कुरा सुनेर पछाडि लाग्ने ? ‘
अध्यक्ष ओलीले सरकारले सुन तस्करी प्रकरणको छानविन उच्चस्तरीय र स्वतन्त्र हुनुपर्ने बताउँदै कर्मचारीको निर्देशित हुन नहुने प्रष्ट पारे ।
फरक प्रसंगमा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका नेताहरुले भेट्नु सामान्य भएको समेत बताएका छन् ।
‘हामी मध्ये कसैले भेट्नु, कुरा गर्नु ठूलो कुरा होइन नि । विष्णु पौडेलजीले मात्र होइन, मैले पनि कुरा गरेको छु, अरुले पनि कुरा गर्नु भएको छ । यस्तो विषयलाई कार्ड छपाएर लिएर जानु भयो रे त, पार्टीमा आइदिनुपर्यो भनेर निम्ता गर्नुभयो भन्ने यो खालको प्रयासहरुलाई मलजल नगर्दा राम्रो हुन्छ ।’ ओलीले भने ।