जल तथा मौसम विज्ञान विभागले हाल मनसुनी वायुको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर सरेको हुँदा देशभर पूर्ण बदली रही वर्षाको सम्भावना रहेको जनाएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।
अहिले देशमा भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । विभागको मौसमी बुलेटिन अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाकीँ प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति देशभर पूर्ण बदली रहनेछ भने सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरु थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।
मेघ-गर्जन तथा चट्याङ्गका कारणले हुन सक्ने क्षति तथा बाढी, पहिरो, डुबान, भू-क्षय र गेग्रान बहावका कारण हुन सक्ने जोखिम बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।