काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज(आइबार) कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिका धेरै स्थानमा अतिवृष्टि हुने सम्भावना रहेको जनाएको छ।
पछिल्लो २४ घण्टामा पोखरा, वीरेन्द्रनगर, काठमाडौं लगायत मधेश प्रदेशमा भारी वर्षा भएको जनाएको छ । विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर तिर नेपाल नजिकै सरेकाले दिउँसोदेखि भोलिसम्म अझै धेरै पानी पर्ने अनुमान गरेको हो ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर मौसम पूर्ण बदली रहनेछ भने देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशका थोरै, साथै मधेश प्रदेशको एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ ।
राति देशभर मौसमसामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।
पछिल्लो २४ घण्टामा कास्कीमा अतिभारी वर्षा भएको महाशाखाले जनाएको छ । कास्कीको पोखरामा मात्रै १२२ दशमलव ७ मिलिमिटर वर्षा मापनभएको छ । त्यसपछि जनकपुरमा ७७दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।
यस्तै, विरेन्द्रनगरमा ७५ दशमलव ८, काठमाडौमा ४९ दशमलव ९, ओखलढुंगामा ३६ दशमलव २ तथा नेपालगञ्जमा २७ दशमलव ३ मिलिमिटर वर्षा मापन गरिएको छ ।
उक्त क्षेत्र भएर बग्ने ठूला नदी तथा खोलामा जल सतह उच्चहुने हुँदा बाढी, पहिरो र डुवानबाट जोगिन महाशाखाले सबैलाई उच्च सर्तकताअपनाउन भनेको छ । साथै,सडक मार्गको प्रयोग गर्दा पूर्व सूचनालिएर मात्रै यात्रा गर्न पनि आग्रह गरेको छ ।