हरिप्रसाद बास्तोला । “आमा बाबुलाई नगर हेला, तिम्रो पनि आउछ दिन त्यही वेला । छोरा पायो अर्कालाई सुख्ख, जन्मदिने बाआमा झन दुःख ।। धान झुलेको छ ,कहाँ जाम कहाँ जाम भई रछ मन डुलेको छ ।”
पोखरा महानगरपालिका वडा नं. १७ म्यूजियममार्गमा भेटिएका वीरबहादुर गन्दर्भ सारङ्गीको धुनमा जन्मदिने आमा बुवालाई माया र स्नेह दिनु पर्दछ भन्ने घरदैलोमा पुगेर प्रस्तुत गरेको सन्देश मुलक गित हो यो । सन्तानबाट जन्मदिने बुवाआमालाई उमेरको उत्तरार्धमा जति माया दिनु पर्ने हो त्यति नपुगेको समाजको परिदृष्यलाई चरितार्थ गर्दै सारङ्गी धुनमा हृदयविदारक गित गाउनु यतिखेर उनको दैनिकी बनेको छ ।
अहिले आमाबुबालाई हेला गर्दा त्यो अवस्था भोलि आफूले पनि भोग्नु पर्छ भनेर भुल्न नहुने, जन्मदाता आमाबुबालाई खुशी राखेर आशिर्वाद लिनुपर्ने जस्ता लय सहितको सारङ्गी धुन सुन्दा जो कोही को पनि आँखा रसाउने गर्दछन् । पछिल्लो समय ६१ बर्षीय गन्दर्भले समाजका विकृति र विसंगतीका विरुद्धमा सारङ्गी बजाउँदै गित गाउने आफ्नो पुख्यौली पेशामार्फत समाजलाई सचेत गराउँदै जिविकोपार्जनको आधार बनाउँदै आएका छन् ।
पोखरा ३२ तल्लो गगनगौंडामा वस्दै आएका ट्वाक्क कान नसुन्ने र तोते वोली भएका वीरबहादुरले बाने, माइला दाजु ठाकुर गायकले दिनुभएको सारङ्गी यतिखेर जीविकोपार्जनको साधन बनेको छ । सारङ्गी विशेष गरि पहिला खिर्राको काठको बनाउने भएपनि दाजुले दिएको भने बकाईनोको भएको उनले बताए ।
सारङ्गी रेट्दै गित गाउनु जीवन धान्ने पेशा नै बन्दै आएको बताउँदै उनले थपे, “एक बर्ष अघिदेखि सरकारले दिने सामाजिक सुरक्षा भक्ता अन्तर्गत मासिक तीन हजार पाउने गरेको छु ।” श्रीमती, तीन छोरी सहित पाँचजनाको परिवारलाई शिक्षा दिक्षा र पालनपोषणको गर्जो टार्दै आएको छोरीहरु कक्षा १२ र ११ र ९ कक्षामा पढ्दै छन् ।
हिउँदको समयमा नजिकैको खोलाको खानीमा ढुङगा, बालुवा र गिटी निकाल्ने मजदुरी काम गर्ने गरेको बताउँदै उनले भने,” वर्षा लागेपछि खोलाको काम बन्द भयो सारङ्गी बोकेर पोखरातर्फ लाग्ने गरेको छु । घरको ढोकामा पुगेर गितगाउँछु सहयोगी मनहरुले स्वस्फुर्त दिएको सहयोग लिएर गितबाट आर्शिवाद दिने गरेको उनको भनाई छ ।
दिन भरी घरघरमा पुगेर सारङ्गीको धुनमा गित सुनाउँदा कहिले दुई हजार ५०० सम्म हुने गरेको बताउँदै उनले कस्तै भएन भन्दा पनि एक हजार नघटेको जानकारी बताए । घरदैलोमा जाँदा पनि सजिलो त छैन, कहि मानिस हुँदैनन् भने कही त कुकुरले गेटमा हेर्नपनि नदिने गरेको उहाँको दुखेसो छ ।
अर्काको घरमा गोठो वसेर जिविकोपार्जन गर्दै आएको गन्धर्वको भनाई छ ।
घरबेटीले झाक्री बोलाएर एउटा कुखुराको भालले पुजा गरेपछि ३८ बर्षको उमेर पहिलो पटक मुख बोल्न पाउँदा अन्यन्तै खुशीको क्षण भएको उनले सुनाए । विहान सवेरै खाना खाएपछि सारङ्गी बोकेर घरबाट निस्कने र झमक्क साँझ परेपछि घर फर्कने उनको दैनिकी बनेको छ ।