काठमाडौं । प्रहरीले झन्डै ५३ लाख रुपैयाँ बराबरको एक हजार दरका नक्कली नोट बरामद गरेको छ ।
नागढुंगा, गोंगबु बसपार्क र भक्तपुरको चाँगु बुढाथोकी गाउँबाट प्रहरीले ५२ लाख ७५ हजार बराबरका पाँच हजार २७५ वटा नक्कली नोट बरामद गरेको हो ।
बिहीबार लुम्बिनीबाट काठमाडौं आउँदै गरेको पर्यटक बसको डिक्कीमा राखेको चाउचाउको कार्टुनमा प्रहरीले ३५ लाख ७३ हजार रुपैयाँका नक्कली नोट फेला पारेको हो ।
त्यसकै आधारमा खोजतलास गर्दा गोंगबु बसपार्क र भक्तपुरको चाँगु बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
बुढाथोकीगाउँ निवासी ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मारेर थप नोटसहित प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।
सुवेदीको डेरामा नक्कली नोट छाप्ने र नोटको कारोबारमा संलग्न भएको आशंकामा प्रहरीले सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, मिलन भण्डारी, कृष्ण भण्डारी,लाई पक्राउ गरेको हो । यसैगरी झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सुवेदीको कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार वटा स्कुटरसमेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।