काठमाडौं । काठमाडौं महानगरपालिकाले कपन खोलामाथि राखिएको स्ल्याब हटाएर खोलालाई स्वतन्त्र बग्न दिने प्रयास गरेपछि सुरु भएको विवाद शुक्रबार पनि जारी छ ।
शुक्रबार पनि काठमाडौं महानगरपालिका -७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोली कपनको साततले पुगेको छ ।
तर काठमाडौं महानगरपालिकाको कदममा कपनवासी विभाजित भएका छन । केही स्थानीयवासीले महानगरको कदमको पक्षमा देखिदा केही भने विरोधमा उत्रिएका छन् ।
केही स्थानीयवासीले खोलाले आंँखा देख्नुपर्ने धारणा राख्दै खोलाको व्यवस्थापन गर्दा कोही पीडित भए नगरपालिकाले हेर्नुपर्ने बताएका छन् ।
उनले भने ‘ खोलाले आंँखा देख्नु पर्छ । खोला खोला हुनुपर्छ । जनताको सुनुवाई हुनुपर्छ । राज्यले त्यसको व्यवस्थापन गर्नुपर्छ । पीडितलाई नगरपालिकाले व्यवस्थित गर्नुपर्छ । ’
अर्का स्थानीयले कपनमा सही र गलत के हो भन्ने नै छुट्याउन नसकिएको बताए । धरमरमा परेर वस्नु भन्दा स्थानीय तहका जनप्रतिनिधिले राजीनामा गर्नु नै उचित हुने उनको भनाइ छ ।
उनले भने ‘ यो हिजो हालेको ढल निकाल्ने दुई साईटबाट बाटो बनाएर खोलाको मापदण्ड कति छ त्यो अनुसार बनाएर जाउ त्यो मैले बुझेको छु । मेरो आलोचना एमाले होस, चाहे उपमेयर होस, चाहे मेयर सहीलाई सहि गलतलाई गलत भन्न सक्दैन भने किन बसिरहेको आजै राजीनामा दिए भइहाल्यो नि । ’
यस्तै अर्का एक स्थानीयले वस्ती बढ्दै गएपछि कपनमा समस्या पनि बढ्दै गएको बताएका छन् ।
उनले भने ‘ स्वतन्त्र खहरे स्थानीय मिलेर हिमपाईप राखियो त्यो वेला बस्ती थोरै थियो । केही फरक परेको थिएन् । जब जब बस्ती बढ्दै गयो तब तब खतरा पनि बढ्दै गयो । ’
बुधबार स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयको विरोधपछि डोजर चल्नदिइएको थिएन् ।