एमालेको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेपछि बैठक स्थगित भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिएका थिए ।

तर साहले बोल्न नपाउँदै सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाएका थिए । सत्ता पक्षका सांसदहरुले सदन प्रतिपक्षीको कुरा सुनेर मात्र अघि नबढ्ने भन्दै विरोध गरे । तर सत्तापक्षको सांसदको विरोधबीच नै सांसद साहले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राखिन । उनको माग सँगै एमालेले सदनमा नारावाजी सुरु गरेर बैठक अवरोध गरेको थियो ।

एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । छानबिन समिति गठन नगरेसम्म सदन नचल्ने एमालेको अडान छ ।

एमाले सांसदहरूको निरन्तर नाराबाजीपछि सभामुखले साउन २९ गते दिउँसो १ बजे सम्मकालागि बैठक स्थगित गरेका छन् ।

यसअघि आजै बसेको राष्ट्रिय सभाको बैठकसमेत सोही अडान राख्दै एमालेले  अवरुद्ध गरेको थियो ।

एमालेको अवरोधपछि  राष्ट्रिय सभा बैठक  साउन ३१ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्