लगातारको संसद अवरुद्धप्रति रास्वपा आक्रोशित

लगातारको संसद अवरुद्धप्रति रास्वपा आक्रोशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरुद्ध भएको विरोधमा संसद भवनबाहिरै संसदको अभ्यास प्रस्तुत गरेको छ।

संसदको चौथो ठूलो राजनीतिक दल रास्वपाले बुधवार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणलाई लिएर सदन अवरोध गरेपछि विरोध स्वरुप संसद भवन अगाडि भेला भइ रास्वपा सांसदले संसदको अभ्यास गरेका हुन् ।

संसद भवनको मुख्य गेटमै संचारकर्मी माझ कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ संसदमा मंगलवार सुन तस्करी प्रकरणबारे दिएको अभिव्यक्ति चित्तबुझ्दो नरहेको भन्दै आक्रोश पोखे । उनले भने ‘राजश्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान सिआईबीलाई दिन कुन कानूनले दियो?’

सुन तस्करी प्रकरणमा विभिन्न ठूला व्यक्ति र निकायहरुको संलग्नता रहेको दाबी गरेका उनले भन्सार विभागका केही कर्मचारी मात्रै हटाएर अनुसन्धान गर्दा अनुसन्धान न्यायपूणर् हुन नसक्ने तर्क गरे । सुन तस्करी प्रकरणबारे फोरेन्सिक ल्याबबाट आएको कल रिपोर्ट सार्वजनकि गर्न उनको माग छ । उनले भने, ‘फोरेन्सिक ल्याबबाट आएको रिपोर्ट आम नेपाली जनताले हेर्न पाउनुपर्छ, त्यो जस्ताको त्यस्तै सार्वजनिक गरियोस्।’

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक पार्टीका आ आफ्नै स्वार्थका कारण संसद चल्न नसकेको तर्क गरे । अहिलेका राजनीतिक दलले नै लोकतन्त्रमाथि धोका दिइरहेको तर्क गरेका उनले सत्तापक्षले समेत सदन चलोस भन्ने नचाहेको दाबी गरे ।

त्यस्तै, रास्वपा सांसद डाक्टर स्वर्णीम वाग्लेले तीन दलले संसदलाई बन्धक बनाएको भन्दै त्यसको विरुद्ध भद्र विद्रोह गरिएको बताए । ‘हामीले यो भद्र सांकेतिक विद्रोह नै गरेका हौं । यो पछाडि तपाईले देखिरहनु भएको छ । जनताको संसदलाई बन्धक बनाइएको छ । यी तीनवटा ठुला दलहरुले के के लेनदेन के के बार्गेनिङ यिनीहरुको नमिलेको हो । ’ उलने भने ‘ जे जे गर्नु पर्छ अर्को थलोमा अर्को समयमा गरेर आउनु यहाँ सभामुखले समयमा तोकेको मितिमा संसद चल्नु पर्छ । यहाँ जनताका विषयमा बोल्नु पर्छ । ’

सो पार्टीकी सांसद सुमना श्रेष्ठले दलका नेताहरुले जनतालाई भोटिङ बैंक मात्रै सम्झने गरेको र त्यो गलत भएको बताइन्। ‘जनता भोटिङ बैंक मात्रै हुँदै होइनन्। भोट बैंक सुरक्षित गर्न कसरी हुन्छ विवादित गरिरहने, हुँदै नभएको कुरा भनिदिने।’ उनले भनिन् ‘जहिले पनि विभाजनको बाटोमा लागेर राजनीति चल्दैन। अब समाजलाई जोड्नुपर्छ। संवेदनशील हुनुपर्छ। सामाजिक आक्रोश कम गर्नुपर्छ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्