पोखरा । पोखरामा अटोवेज प्रालिले विद्यालयका बसचालक तथा सहचालकहरूलाई लक्षित गर्दै निःशुल्क आँखा जाँच शिविर गर्ने भएको छ । ‘आँखा जचाउ , दृष्टि बचाऊँ’ भन्ने नाराका साथ अटोवेजले पाँच दिने निःशुल्क आँखा जाँच शिविर संचालन गर्न लागेको हो ।
पोखराको नयाँबजारस्थित अटोवेज शोरुमको भवनमा साउन २४ गतेदेखि २६ गतेसम्म तीन दिन आँखा जाँच शिविर संचालन हुने भएको अटोवेजकी निर्देशक सन्ध्या पौडेलले जानकारी दिइन् । त्यसै गरी साउन २९ गते लेखनाथस्थित गण्डकी बहु प्राविधिक शिक्षालयमा र साउन ३० गते लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर संचालन हुने पौडेलले बताइन ।
निर्देशक पौडेलका अनुसार शिविर बिहान ११ बजे सुरु भई दिउसो २ बजेसम्म जारी रहने छ । शिविरमा सहभागी भएर निःशुल्क रूपमा आँखा जँचाउन सम्बन्धित सबैमा उनले आग्रह समेत गरेकी छन् ।
‘हामीले स्कुल बसका चालक तथा सहचालकहरूलाई लक्षित गरेर अहिले निःशुल्क आँखा जाँच शिविर राखेका छौँ । शिविरको उद्देश्य भनेको दिनहुँ हजारौँ विद्यार्थीहरूलाई ओसार पसार गर्ने चालक तथा सहचालकहरूको निःशुल्क आँखा जाँच गराएर उहाँहरूको आँखा दृष्टि सुरक्षित गराउनु नै हो । उहाँहरूलाई आफ्नो पायक पर्ने स्थानको शिविरमा पुगेर आँखा जँचाउन हामी अनुरोध गर्न चाहन्छौँ, ‘ निर्देशक पौडेलले भनिन् ।
अहिले पोखरामा आँखा पाक्ने रोगको सङ्क्रमण देखिएको र महानगर भित्रका विद्यालय तीन दिन बन्द समेत हुने भएकाले यस अवस्थामा शिविर थप फलदायी हुने विश्वास समेत निर्देशक पौडेलले व्यक्त गरिन ।
पोखरामा टोयटा, आइसर, कोमात्सु तथा बुलको आधिकारिक विक्रेता अटोवेजले विद्यार्थी, अभिभावक र विद्यालयसँग जोडेर सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको छ । अटोवेजले गोविन्द कलावती फाउन्डेसनमार्फत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग समेत गर्दै आएको छ ।