काठमाडौं । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरू आज पुनः छलफलमा बस्ने भएका छन् ।
सोमबार सभामुखको नेतृत्वमा छुट्टाछुट्टै शीर्ष तीन दलका नेतासहित बसेको दुबै बैठक निणर्यमा पुग्न नसक्दा बिहान १० बजेलाई पुनः बैठक बोलाईएको छ ।
सुन प्रकरणमा छानबिन समिति बनाउने विषयमा एमालेको अडानलाई लिएर हिजो सिंहदरबार र बानेश्वरमा भएको छलफल निष्कर्षमा पुग्न सकेन । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा थपछ लफलका लागि बैठक बोलाइएको छ ।
आज दिउँसो ३ बजेको लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्नु अघि प्रमुख दलबिच सहमति जुटाउने प्रयास स्वरूप उक्त बैठक डाकिएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सभामुख देवराज घिमिरे, प्रमुखप्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत छलफलमा सहभागि बन्नेछन् ।
हिजो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक शीर्ष दलको नेतृत्वसँग कुरा नमिल्दा सूचनामार्फत सारिएपनि बस्न सकेन । राष्ट्रिय सभा भने एमाले सांसदको अवरोधको कारण स्थगित भयो ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्वीकार गरेपछि गत १२ साउन देखी नै संसद अवरुद्ध हुँदै आएको छ । त्यसलाई हटाउन सभामुखसहित सत्तापक्षले छलफल गर्दै आएपनि प्रयास सफल भएको छैन् ।
आजको बैठकबाट निष्कर्ष निकाल्ने अपेक्षाशीर्ष नेताहरूले गरेपनि छलफल सकारात्मक नभए आज दिउँसो तीन बजे बोलाइएको प्रतिनिभिसभा बैठक अन्यौंलमा पर्ने देखिएको छ ।