काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले, देशलाई हिन्दु राष्ट्र घोषणा गर्न ढिला भइसकेको तर्क गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ८१ प्रतिशत भन्दा धेरै हिन्दुहरु भएको नेपाल धर्मनिरपेक्ष हुनु सुखद नरहेको भन्दै हिन्दु राष्ट्र बनाउन ढिला भैसकेको बताएका हुन् ।
हिन्दु परम्परा,गौरव र संस्कृतिलाई हिन्दु आफैंले बोक्नलाई लाज मान्न थालेको भन्दै उनले गुनासो समेत व्यक्त गरे ।
हजारौं वर्षबाट अस्तिस्वमा रहेको वैभवशाली परम्परा, धर्म संस्कृतिलाई संरक्षण गर्नुपर्ने तर्क गर्दै लिङ्देनले भने, ‘वैभवशाली हाम्रो धर्म,परम्परा,संस्कृति जसलाई हामीले गौरवका साथ बोक्न लाज मान्न थाल्यौ ।’
उनले धार्मिक संघ-संस्थामा रहेका अगुवाहरुलेसमेत धर्म निरपेक्षलाई अवलम्बन गरेको प्रति असतुष्टि पोखे ।
उनले भने, ‘धार्मिक संघसंस्थाहरुमा हिन्दुधर्मसंग सम्बन्धित अगुवाहरु र कतिठाउँमा गुरुहरुसमेत ठिकै छ, धर्म निरपेक्ष भएर के छ र, पूजाआजा गर्न पाएकै छौं, पुराण भन्न पाएकै छौं, मन्दिर जान पाएकै छौं, केही विग्रेको छैन् । तपाईंहरु गर्दै गर्नुहोस् भन्नेहरु पनि हुनुहुन्छ । म फेरी पनि भन्छु ढिलो हुने छ हामी सबैमा जागरण र चेतना आओस् ।’