काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज-आइतबारपनि काठमाडौंमा जारी रहने छ।
गत साउन १७ गते बाट सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्।
करिब डेढ वर्षपछि बसेको बैठकमा उठेका प्रश्न तथा सुझावलाई अध्यक्ष प्रचण्डले आफ्नो डायरीमा टिप्दै आएका छन् । सबै केन्द्रीय सदस्यले बोलिसकेपछि आज अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाफ दिनेछन् ।
पाँच दिन बस्ने गरी सुरु भएको बैठकको आन्तिम दिन आज दिउसो १ बजेका लागि बैठक बोलाइएको छ ।
चौथो दिनसम्ममा सबै केन्द्रीय समिति सदस्यले बोल्ने क्रम सकिएको र आज निणर्य आउने स्थायी समिति सदस्य रेखा शर्माले जानकारी दिइन् ।
सञ्चार मन्त्री समेत रहेकी शर्माले भनिन् ‘ सबै केन्द्रीय समितिका सदस्यहरुले बोलेर सकियो , आइतबार एक बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकले आवश्यक निणर्य गरेर पार्टी निर्माणको प्रक्रियामा जुट्छौ । ’
शनिबारको बैठकमा पार्टीका प्रमुख नेताहरुले पनि आफ्नो धारणा राखेका थिए । वर्षमान पुन, जर्नादन शर्मा लगायतका माओवादी नेताले पार्टीमा अध्यक्षको विकल्प खोज्ने बेला नभएको भन्दै वर्तमान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको समर्थनमा धारणा राखेका थिए ।
त्यस्तै उपमहासचिव समेत रहेका नेता पुनले पार्टीमा विस्तारै अर्को नयाँ अध्यक्षको लागि ग्रुम गर्ने वातावरण बनाउने तर्फ पार्टीले ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
विशेषगरि माओवादीको मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्यगरी बैठकमा छलफल भइरहेका छन्।