काठमाण्डौ, २१ साउन । रुद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीका लागि बिहान ५ः३० बजेदेखि उद्धार सुरु भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए ।
एनडीआरएफ, एसडीआरएफ र अन्य संगठनका जवानहरू बिहानैदेखि बेपत्ता भएकाहरुको खोजीमा पुनः लागेका छन् । स्थानीय विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारका अनुसार बिहानैदेखि उक्त क्षेत्रमा हल्का वर्षा भइरहेको छ । जसका कारण उद्दार र खोजी कार्यमा थप समस्या उत्पन्न भएको छ ।
पहिरोमा परी बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको छ । कालिकोट घर भई त्यहाँ काम गर्ने तीन जनाको शवको पहिचान घटनास्थलमै रहेका आफन्तबाट खुलेको हो । ‘
घट्नास्थल वरपरको क्षेत्रमा लामो समयदेखि सयौँ नेपाली नागरिक परिवारका अन्य सदस्यसहित काम गर्दै आएका छन् । त्यहाँ उनीहरुले झुप्रामा होटल सञ्चालन गर्ने तथा दैनिक ज्याला, मजदुरी गर्ने गरेका छन ।
घटनाप्रति दु:ख प्रकट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको बताएका छन ।
रुद्रप्रयागमा खराब मौसमका कारण मुख्यमन्त्री पुष्कर सिंह धामीको गौरीकुण्ड भ्रमण रद्द भएको छ । रुद्रप्रयाग भारतका १० सबैभन्दा पहिरो जाने जिल्लाहरूमध्ये पहिलो स्थानमा रहेको छ।
विगत तीन-चार दशकमा त्यस क्षेत्रमा पहिरोमा परी हजारौंको ज्यान गएको र बेपत्ता भएका प्रमुख घटनाहरू यसको प्रमाण हुन् । सन् २०१३ मा केदारनाथमा गएको पहिरो र बाढीमा चार हजार५०० मानिसले ज्यान गुमाएका थिए।