दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएका मध्ये दुई जनाको शव फेला परेको छ ।
पहिरोमा पुरिए बेपत्ता भएका चार मध्ये दुईको शव फेला परेको हो । पहिरोमा पुरिएकी ५० वर्षीइा देवीमाया मगरको शव खोजीको क्रममा शुक्रबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ । यस अघि शुक्रबार बिहान १५ महिने बालक प्रिन्स थामीको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको थियो ।
पहिरोमा पुरिएर हराइरहेका टोपाटारमा स्थानीय ४९ वर्षीय हरिलाल श्रेष्ठ र ६० वर्षीय कृष्णबहादुर मगरको अवस्था अज्ञात छ । उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परी ४० वर्षीय यज्ञबहादुर थामी, उनकी श्रीमती ३९ वर्षीया धनमाया थामी र २२ वर्षीया बुहारी सिता थामी घाइते भएका छन् । घाइते दुबैलाई उपचारको लागि काठमाडौं लगिएको छ । सीताको भने सिँगटी अस्पतालमा उपचार भई रहको छ ।
गए राति गौरीशंकर गाउँपालिका-८ सल्लेमा गएको पहिरोले वडा नं ७ को टोपाटारको बस्ती पुरेको थियो । पहिरोका कारण केही घर पुरिएका छन भने ३२ भन्दा बढी घर जोखिममा परेका छन् ।