प्रहरीले प्रदर्शनकारीमाथि अमानवीय ढंगले कुटपीट गर्‍यो: डा.भट्टराई

प्रहरीले प्रदर्शनकारीमाथि अमानवीय ढंगले कुटपीट गर्‍यो: डा.भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौं प्रहरीले प्रदर्शनकारीहरूलाई अमानवीय ढंगले कुटपीट गरेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै प्रहरीले गरेको अमानवीय क्रियाकलापलाई ढाकछोप गरेर, कुतर्क गरेर बस्ने हो भने लोकतन्त्रलाई के होला भन्दै प्रश्न पनि गरेका छन् ।  उनले सरकारका उच्च पदाधिकारीहरुले बेलैमा ध्यान नपुर्‍याए इतिहास निर्मम हुने चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, ‘नेसपाका केन्द्रीय सदस्यहरू नेरूता तामाङ, मन्जु थापा मगर, मन्जु मिक्चान तामाङलगायत दर्जनौं प्रदर्शनकारीहरूलाई काठमाडौं प्रहरीले हिरासतमा लिएर अमानवीय ढंगले कुटपीट गरेको भिडिओ, अडियो, फोटो र प्रत्यक्ष भोग्ने,देख्ने, सुन्ने साक्षी विद्यमान छन् । अझै पनि यसलाई ढाकछोप गरेर, कुतर्क गरेर बस्ने हो भने हाम्रो लोकतन्त्रलाई के भन्ने होला ? कुर्सीमा विराजमानहरूको बेलैमा ध्यान पुगोस नत्र इतिहास निर्मम हुन्छ है ।’

यस्तै, उनले हिजो प्रेस वक्तव्य जारी गर्दै  शान्तिपूर्ण रूपले प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई अनावश्यक बल प्रयोग गरेर प्रहरी कार्यालयभित्र निर्घात कुटपिट गर्नु लोकतन्त्रको उपहास भएको भन्दै भत्सर्ना गरेका थिए ।
शान्तिपूर्ण रूपले प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई अनावश्यक बल प्रयोग गरी दर्जनौंलाई घाइते बनाउनु, उल्टै घाइतेहरूलाई पक्राउ गर्नु र पक्राउपछि प्रहरी कार्यालयभित्र लगेर निर्घात कुटपिट गर्नु लोकतन्त्रको उपहास हो । प्रहरी, प्रशासनको यस्तो पञ्चायती शैलीको घोर भत्सर्ना गर्दछौँ । उनले वक्तव्यमा भनेका छन् ।

उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचार, पक्राउ परेका सबै प्रदर्शनकारीलाई रिहाइ, प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्ने प्रहरीहरूको तत्काल छानवीन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्