आवाज उठाउने भरपर्दो थलो बन्दै माइतीघर मण्डला

आवाज उठाउने भरपर्दो थलो बन्दै माइतीघर मण्डला

काठमाडौं । माइतीघर मण्डला आवाजविहीनहरुको आवाज बुलन्द गर्ने थलो बन्दै आएको छ । घर झगडादेखि राष्ट्रको सीमा मिचिएको सम्मका मुद्दामा राज्यको ध्यानाकर्षण गराउन सबै जनाले यसै माइतीघरलाई चुन्दै आएका छन् । माइतीघर यति व्यस्त बन्न थालेको छ कि यसले आजकल  २४ सै घण्टा फुर्सद् पाउदैन ।

माइतीघरमा अहिले भान्साघर, सुत्ने ओछयानदेखि अस्थायी शौचालयको निर्माण समेत गरिएको छ । पानी पर्दा ओत लाग्नको लागि पनि राम्रै व्यवस्था गरिएको छ । सहकारी पीडितहरु महिनौदेखि यही थलोमा धर्ना कसेर बसेका छन् ।

संघीय शिक्षा ऐनको पक्षमा नाराबाजी गर्दै यहाँ हरेक दिन शिक्षकहरुको र  शिक्षाप्रेमीको नारवाजी घन्किने गर्दछ  । यहाँ  मिटरव्याज पीडितहरुले धर्ना कसेको महिनौ वितिसक्यो । यति मात्र नभइ घर परिवार र छर छिमेक  भित्रका मुद्दा लिएर माइतीघरमा धर्ना कस्नेहरु पनि कम छैनन् ।

अहिले यहाँ  चन्दा उठाएर सामूहिक मेस चलाइएको छ । मोबाइल चार्जको लागि पनि व्यवस्था मिलाइएको छ । सरकारले सिंहदरबार वरिपरिको ठूलो क्षेत्र निषेधित क्षेत्र घोषणा गरेको छ । तर माइतीघरलाई भने त्यो निषेधले छुँदैन । त्यही भएर पनि  माइती घरमा आवाज  हरेक दिन बुलन्द बनेर घन्कने गर्छ ।

विगत ११ महिनादेखि तलव नपाएका वनका कर्मचारीहरु पनि देशभरबाट आएर अहिले माइतीघरमा नै भेला भएका छन् । उनीहरुलाई तलवको मात्र चिन्ता छैन, आफुहरुले दुःख गरेर हुर्काएको वन पनि मासिने हो कि भन्ने चिन्ता छ ।

कतिपय मुद्दामा सरकारका वरिष्ठ मन्त्रीहरु नै आएर आन्दोलनरत समूह र व्यक्तिसँग भेटर समस्याको सम्बोधन गर्ने गरिएकोले पनि माइतीघरमा ‘चाम’ बढेको छ ।

सबैको मुद्दा नसुलिएला तर धेरैको मुद्दा यहाँ आइपुगेपछि सुनुवाई पनि भएको छ । माइतीघर यसैले पनि दुःखमा परेका, पीडामा परेका र अन्यायमा परेकाहरुका लागि आवाज उठाउने भरपर्दो थलोको रुपमा विकसित भएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्