काठमाडौं । दक्षिण अफ्रिकाले, आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई २ सय १३ रनको मध्यम लक्ष्य दिएको छ ।
इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा २ सय १२ रनमा अल आउट भयो ।
मध्यक्रमका ब्याटर डेविड मिलरको शतकमा दक्षिण अफ्रिकाले सम्मानजनक योगफल तयार गरेको हो ।
मिलर बाहेक अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन ।
हेनरिक क्लासेनले ४८ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भए ।
एक समय २४–४ को अबस्थामा पुगेको टोलीलाई मिलर र क्लासेनले पाँचौ विकेटका लागि ९५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।
मिचेल स्टार्कको पहिलो ओभरको अन्तिम बलमा कप्तान टेम्भा बभुमा शुन्यमा विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए ।
यस विश्वकपमा चार शतक हानेका क्विन्टन डि कक ३ रनमा क्याच आउट भए । स्टार्कको ११ औं ओभरको पाँचौ बलमा एडेन माक्ररम १० रनमा डेविड वार्नरबाट क्याच आउट भए ।
अष्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिए । ट्रविस हेडले ५ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले ८ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर २ विकेट लिए ।
यश खेलको विजेताले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ ।