लप्चीमा उच्च स्थानमा पर्वतीय ध्यान केन्द्र, पर्खनुपर्छ महिनौँ पालो

लप्चीमा उच्च स्थानमा पर्वतीय ध्यान केन्द्र, पर्खनुपर्छ महिनौँ पालो

रामेछाप । उत्तरी दोलखाको विकट मानिने विगु गाउँपालिका–१ को तिब्बती नाका लप्चीमा प्राचीन उच्च पर्वतीय लामा ध्यान केन्द्र छ । प्रचारको अभावमा धेरैलाई यो ध्यान केन्द्रको बारेमा थाहा छैन ।

नेपालमा उति जानकारी नभए पनि उक्त केन्द्रमा ध्यान गर्न आउने विदेशीले भने महिनौँ पर्खिएर ध्यान गर्ने ठाउँ बुक गराएर ध्यान गर्न पुग्दछन् ।

लप्चीमा रहेको लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यान केन्द्रलाई ४ हजार वर्ष पुरानो गुम्बा मानिन्छ । समुन्द्र सतहबाट ४ हजार र ३ सय मिटरको उचाइमा रहको सो गुम्बा क्षेत्र प्राचीन कालदेखि तपोभूमिको रूपमा रहँदै आएको पाइएको छ ।

विगतमा गुफाहरूमा नै तप र ध्यान गरिँदै आएकोमा अहिले साना साना कटेज बनाएर ध्यान गर्ने व्यवस्था मिलाएको पाइएको हालै सो क्षेत्रको भ्रमणमा पुगेर फर्किएका नेपाल शेर्पा संघ वाग्मती प्रदेश सचिव दवा साङबु शेर्पाले बताए ।

सो क्षेत्रको पहाडमा एक्ला एक्लै ध्यान गरेर बस्न मिल्ने १ सय ३५ वटा कटेज निर्माण गरेर ध्यान गर्न आउनेलाई उपलब्ध गराउने गरिएको छ ।

ती कटेजमा ध्यान गर्न पहिला नै बुक गरेर मात्र जान पाइन्छ । ध्यान गर्नको लागि, तिब्बत, श्रीलङ्का, सिक्किम, भुटान लगायतका देशबाट भिक्षुहरू आउने गरेका छन् ।

तीन महिनादेखि तीन वर्षसम्म ध्यान गर्न लामाहरू सो गुम्बामा पुग्ने गर्दछन् । ‘कुनै खाली छैनन्, सबै विभिन्न देशबाट आएका लामाले भरिएका छन्, पहिला नै नाम बुक गर्नुपर्ने रहेछ, नेपालबाट जाने भने एकदमै कम देखियो’, शेर्पाले भने ।

परापूर्व कालमा तिब्बतबाट गुरु पद्मसम्भव एवं अवतार यस क्षेत्रमा प्रवेश विश्वास गरिन्छ । त्यसैले यस स्थानलाई बौद्ध धर्मावलम्बीको पवित्र धार्मिक स्थल मानिन्छ । सो स्थानमा धेरै प्राचीन अवशेषका बस्तु पनि छन् ।

उनले प्रयोग गरेका घोडा, भाँडा, आश्रय स्थल, हत्केला, पैतालाको पाइला, याकको पाइला सबै अहिले पनि यथावत् छन् । जसलाई धार्मिक भाषामा मिला रेपा स्थल भनिन्छ ।

मिला रेपा तिब्बतीहरूको पनि आस्थाको केन्द्रको रूपमा रहेको छ । त्यसैले पनि लप्चीमा सुरक्षित छ । अन्यथा चीनले यस्ता ध्यान केन्द्र सीमा परिसरमा पहिला नै हटाइसक्ने स्थानीय पेम्बा शेर्पा बताउँछन् ।

सो ध्यान केन्द्र क्षेत्रको वातावरण शान्त छ । त्यतिकै जटिल र जोखिमपूर्ण पनि छ । अति उचाइमा रहेकोले लेक लाग्ने जोखिम छ । स्वास्थ्य उपचारको कुनै प्रबन्ध छैन, खाने कुरा पुर्याउन त्यतिकै कठिन छ । नेपालबाट दोलखाको लामाबरबाट दुई दिनको अति कठिन र जोखिमपूर्ण पहाडको यात्रापछि गुम्बा र ध्यान गर्ने स्थलमा पुगिन्छ ।

मिला रेपाको आश्रयस्थल भएको कारण त्यहाँ गएर ध्यान गर्न पाउनुलाई जीवनको सार्थकता मानिन्छ र लामा गुरुहरू ध्यान गर्न पुग्छन् । सो गुम्बा निर्माण र संरक्षणको लागि सिक्किममा रहेका एक बौद्ध गुरुले सहयोग गर्दै आएका छन् ।

गुम्बा ध्यान केन्द्रका प्रमुख खेन्पो ङडुपका अनुसार प्रचारको अभावका कारण सो ध्यान केन्द्रमा कमै मान्छे पुग्छन् । लामा गुरुहरू व्यक्तिगत सम्बन्ध र सम्पर्कका कारण ध्यान गर्न पुग्छन्, अन्य दर्शनार्थीलाई सो गुम्बाको बारेमा थाहा नै छैन । ‘उचित प्रचार हुने हो भने मानसरोवर भन्दा यो ठाउँ पनि कम छैन’, उनले भने ।

नेपाल सरकारको तर्फबाट सो गुम्बा र ध्यान केन्द्रको न त प्रचारको लागि कुनै काम भएको छ न त्यहाँसम्म पुग्ने बाटो र पूर्वाधार निर्माणको लागि कुनै काम भएको छ ।

सडक, विद्युत्, सञ्चार, स्वास्थ्य उपचार कुनै प्रबन्ध छैन । पूर्वाधार निर्माण गरेर उचित प्रचार गर्ने हो भने सो स्थान महत्वपूर्ण धार्मिक पर्यटकीयस्थल बन्न सक्छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्