काठमाडौं । सभामुख देवराज घिमिरेले, सिंहदरबार भित्र निर्माणाधीन संघीय संसद्को भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।
मंगलबार सहरी विकास मन्त्रालयले, संसद् भवनभित्र प्रयोग गरिने प्रविधिहरुको सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा उनले संघीय संसद्को मुख्य दुईवटा भवनहरु दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
संसद्को आगामी अधिवेशन नयाँ संसद् भवनबाट चलाउने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभाका मुख्य बैठक कक्षमा आवश्यक प्रविधिहरु जडान गरिसक्न उनको आग्रह छ ।
‘हामीले सबै भवनहरु नसके पनि मुख्य भवनलाई सकेर राष्ट्रिय र प्रतिनिधि सभाको मुख्य हलहरु प्रविधिहरु राखेर काम गर्न मिल्ने दुई महिनाभित्र गर्न सकिन्छ कि सकिदैँन् ? किनभने २ महिनापछि हिउँदे सत्र हामी त्यही गर्ने सोचमा छौ । हाम्रो लक्ष्य भनेको त्यही हो । त्यो पूरा गर्ने तपाईहरुको तयारी हुन सक्छ कि सक्दैँन् सबै कुराहरुलाई मिलाएर छलफल हुनुपर्छ ।’ उनले भने ।
सहरी विकासमन्त्री सीता गुरुङले संघीय संसद् भवनमा नयाँ प्रविधिको जडान गरिने जानकारी दिइन् । उनले भोलिको विश्वसँग तुलना गरेर नयाँ प्रविधिहरुलाई प्राथमिकताका साथ जडान गरिने बताइन् ।
विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले १२ वटा भवनहरुमध्ये ७ वटा भवनहरुको छाना सम्मको काम सम्पन्न भइसकेको जानकारी दिए । बाँकी ४ वटा भवनमा ट्रस्ट निर्माण लगायत छानाको काम अगाडी बढिराखेको उनले बताए । संघीय संसद् भवन निर्माणको काममा ७५ प्रतिशत प्रगति भएको उनको भनाई छ ।