काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जडिबुटीमा निर्माण गरिएको अरनिको बसपार्क वरिपरिको क्षेत्रमा सञ्चालित सरसफाई अभियानको शुभारम्भ गरेका छन् ।
अरनिको बसपार्क जडिबुटी सञ्चालन अभियान अन्तर्गत बसपार्क तथा जडिबुटी सरसफाई कार्यक्रम अभियानले शनिबार आयोजना गरेको सरसफाई कार्यक्रममा मन्त्री बस्नेतले कुचो लगाएर अभियानको शुभारम्भ गरेका हुन् ।
सफाई अभियान सुभारम्भ गर्नु भन्दा पहिले मन्त्री बस्नेतले जडिबुटी बसपार्क क्षेत्र र वरिपरिको स्थलगत अवलोकन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले जडिबुटीमा निर्माण भएको बस पार्कले काठमाडौं आसपासका जिल्लासम्म चल्ने बसका यात्रुहरुलाई सुविधा पुग्ने बताए ।
काठमाडौं महानगरपालिकाले बस पार्क निर्माणमा असहमती जनाउनु आवश्यक नभएको भन्दै मन्त्री बस्नेतले जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर स्थानिय सरकारले काम गर्नु पर्नेमा जोड दिए ।
बसपार्क बनेपछि स्थानियबासीलाई हल्ला हुने, चोरीका घटना बढ्ने र सरसफाई नहुने भन्ने भ्रमलाई चिरेर बसपार्क सञ्चालक समितिले काम गरेर देखाउनु पर्ने मन्त्री बस्नेतले सुझाव दिए । बसपार्क सञ्चालनमा केन्द्रिय सरकारको पूर्ण समर्थन रहने मन्त्री बस्नेतले आश्वासन दिए ।
पूर्व अरनिको यातायत प्रालिका अध्यक्ष केदार क्षेत्रीले जनताको सुविधालाई ध्यानमा राखेर बसपार्क सञ्चालन गरिएको र स्थानियवासीका कुनै गुनासो नरहने गरि काम गर्ने बताए । बिगत ६ हप्तादेखि जडिबुटी, मनोहरा नदी क्षेत्रमा सफाई अभियान चलाइरहेका अभियन्ता चन्द्र दंगाललाई मन्त्री बस्नेतले ग्लोब, ज्याकेट सहितका सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा बागमति प्रदेश सरकारका यातायात मन्त्री लक्ष्मण लम्साल लगायतको सहभागिता थियो ।