काठमाडौं । तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता आज सुरु भएको छ ।
शनिबार वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वीर गणेशमान सिंह र उनले जीवनभर गरेका योगदानलाई जीवन्त राख्नु पर्ने बताए ।
उनले नयाँ पुस्तालाई लोकतन्त्रको अधिकार र त्यसबाट पाएको स्वतन्त्रताको महत्व बुझाउन आवश्यक रहेको बताए ।
उनले भने, ‘वीर गणेशमान सिंहले जीवनभर गर्नुभएको योगदान र उहाँलाई जीवन्त राख्नका लागि र नयाँ पुस्तालाई पनि नेपालमा लोकतन्त्रको अधिकार र त्यसबाट पाएको स्वतन्त्रताबारे बुझाउनुपर्छ ।’
प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । सिनियरमा ४, भेट्रानमा ७ र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ ।
सिनियर र भेट्रानमा गरी कुल ९ लाख ५ हजार रुपैयाँ पुरस्कार रहेको कमिटीका राजनखत्रीले जानकारी दिए । अयोजकका अनुसार गत संस्करणभन्दा पुरस्कार राशीमा २ लाख ५ हजार रुपैयाँ बृद्धि गरिएको छ भने जुनियरमा भने प्रोत्साहन स्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।















