पोखरा । यस वर्षको पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम शुक्रबारबाट सुरु भएको छ । शनिबारसम्म चल्ने यो कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी गरिएको छ ।
देशैंभर सूरु भएको यो अभियानको पोखरामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका छन् । शुक्रबार बिहान पोखरा ७ रत्नचोकमा रहेको शहरी स्वास्थ्य केन्द्रमा पुगेर बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाएर उद्घाटन गरेका हुन् ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।
यस अगाडिका वर्षमा सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते कार्यक्रम सञ्चालन गर्दै आएपनि यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम १५ दिन पछि धकेलिएको थियो । दोस्रो चरणको कार्यक्रम आगामी वैशाख ६ र ७ गते गरी तय गरिएको छ ।
देशैंभर सञ्चालन भइरहेको यो कार्यक्रममा सबैले आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।
सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम तथा जुकाको औषधि २०५६ साल बाट खुवाउन थालेको हो । कार्यक्रमका लागि स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई खटाइएको छ ।















