काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइलको पहिलो पन्ना पल्टाउन नपाउँदै सरकारको सातो गएको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौं २ मा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको फाइलको पहिलो पन्ना पल्टाउन नपाउँदै सरकारले आफ्ना मान्छेको अनुहार देखेपछि पहिलो पेजबाट दोस्रोमा नगई फाइल बन्द गरेको आरोप लगाए ।
उनले भने, ‘सरकारले भ्रष्टाचारको फाइल सुरुवात गर्दा हामीले दिल खोलेर स्वागत गरेका थियौं । संसदको रोस्टममा मैले नै उभिएर भनेको थिएँ । स्याबास, राम्रोसँग गर्नु जरोसम्म पुग्नु भनेको थिएँ । जरोसम्म त के भ्रष्टाचारको फाइलको पहिलो पन्ना पल्टाउन पाएको छैन सरकारको सातो गयो । त्यहाँ त आफ्नै मान्छेको अनुहार झल्झल्ती आयो । आफ्नो मान्छेको अनुहार आउनसाथ भटाभट गरेर फाइल खोल्यौ नि भनेको मान्छे पहिलो पेजबाट दोस्रोमा नभइ बन्द गरेर जस्ताको तस्तै बनेको छ ।’
सभापति लामिछानेले उनले २०८४ सालपछि रास्वपाले भ्रष्टाचारका फाइलको धुलो टक्टकाएर फाइलको पहिलो पन्नादेखि अन्तिमसम्म हेरेर सधैंका लागि बन्द गर्ने दाबी गरे ।
रविले भने, ‘केही चिन्ता गर्नु पर्दैन, २०८४ सम्म जति धुलो लाग्छ लागोस् । त्यो धुलो टक्टकाएर फाइलको पहिलो पन्नादेखि अन्तिमसम्म हेरेर सधैँका लागि बन्द गर्ने काम हामी गर्ने छौं । हाम्रो परिवारको मानिस किन नआओस् । सांसद होस् मन्त्री होस् या प्रधानमन्त्री होस् आफ्नो अर्काको नभनिकन हामी कारबाही गर्न तयार छौं ।’
हाम्रो पार्टी विदेशीको इसारामा चल्दैन
उनले भने, विदेशीको इसारामा चलेको पार्टी भन्नेहरूलाई बहस गरेर आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
उनले रास्वपा नेपाली जनताबाहेक कसैको चन्दा, कसैको जुठोपिरो नखाने बाचा गरेर हिँडेको पार्टी भएको भन्दै विदेशीको इसारामा नचल्ने बताए ।
उनले भने, ‘मैले बारम्बार भनेको छु, प्रमाणित गर्नुस् । आउनुस्, कहाँ बहस गर्ने ? जहाँ बहस गर्न पनि हामी तयार छौं । तर, भन्दिएको भरमा फलाना युरोपियनले चलाएको, इन्डियनले चलाको रे, अमेरिकनले चलाएको रे भन्दिएको भरमा हुन्छ ?’
लामिछानेले थपे, ‘आफ्नो पार्टी कार्यालयमा विदेशी नेताको फोटो र तस्वीर टाँसेर, दलको नाम विदेशी नाममा राखेर, नेपाली माटोमा नेपाली जनताले माया गरेर हुर्काएका, एकसेएक नेपाली आमाका सुपुत्र सुपुत्री बोक्न नेपाली जनताबाहेक कसैको चन्दा, कसैको जुठोपिरो नखाने बाचा गरेर हिँडेको पार्टी विदेशीको इसारामा चल्दैन, कसैको जुठो खाँदैन ।’
उनले मौकामा सडकमा गएर सरकारको विरोध गर्नुपर्थ्यो भनेर आफ्नो पार्टीलाई पम्प दिने काम भएको जानकारी दिए । विशेष अवस्थामा बाहेक पाँच वर्षमा एकपटक मत हाल्न लगाएर मतपत्रबाट जनताको सबै काम गर्ने उनको जिकिर छ ।
उनले भने, ‘मलाई र हाम्रा दलका नेताहरुलाई, यस्तो मौका गुमाउनुभयो । मौकामा सडकमा आएर सरकारको विरोध गर्नुपर्थ्यो र तपाईंले भन्यो भने माइतीघरमा सबै आउँछन् भनेर भनेर धेरैले आएर पम्प हाल्ने काम गरे । विशेष अवस्थाभन्दा बाहेक हामी तपाईंहरुलाई बाहिर ल्याउन चाहँदैनौं, आफ्नो काम गर्नुस् ।’