काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सबै सरकारी विद्यालयमा दुर्घटनामा परेका विद्यार्थीको सहयोगको लागि सरकारले विद्यार्थी कल्याण कोष स्थापना गर्नुपर्ने बताएका छन् ।
उनले विद्यालयमा विद्यार्थीलाई दुर्घटनामा परी घाइते र अंगभंग भए उपचारको व्यवस्था मिलाउन सरकारले विद्यालयहरुमा विद्यार्थी कल्याण कोष स्थापना गर्नुपर्ने बताए ।
‘विद्यालयमा विद्यार्थीहरु लड्ने वा चोटपटक लाग्ने सम्भावना हुन्छ । विद्यालयभित्रै पनि दुघर्टनामा परेर जिवनभर अपांगता भएको कयौं उदाहरणहरु हामीले देखेका छौं । त्यसैले विद्यालयमा विद्यार्थीहरुलाई दुर्घटनामा पर्दा सहयोग गर्नको लागि विद्यार्थी कल्याण कोष स्थापना गरिनुपर्छ ।’
संसदमा संशोधनको लागि लगिएको शिक्षा विधेयक संशोधन गर्दा सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानका लागि समाजवाद र लोकतान्त्रीक शिक्षाको प्रावधान उक्त विधेयकभित्र देखिनुपर्ने उनको भनाई छ ।
शिवपुरी माध्यमिक विद्यालयले महाराजगञ्मा आयोजना गरेको ‘हीरक जयन्ती समारोह–२०८०’ कार्यक्रममा उनले सबैका लागि गुणस्तरीय शिक्षा पाउने पहुँच स्थापित गराउने गरी विधेयकमा संशोधन हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा रहेका शिक्षामन्त्री अशोक राईतर्फ इसारा गर्दै उनले भने, ‘समाजवाद र लोकतन्त्र शिक्षाभित्र देखिनुपर्छ, ‘सामान्य नागरिकले गुणस्तरीय शिक्षामा पहुँच राख्ने स्थिति विधेयकमा हुनुपर्छ ।’
उनले थपे ‘मैले प्रस्ताव गरेको छु कि हरेक विद्यालयमा अभिभावकसँग जोडिने संयन्त्र बनाइनुपर्छ । शिक्षकले मात्रै जोड गरेर पढाएर विद्यार्थी अब्वल बन्न सक्दैनन् । अभिभावकको दायित्व पनि उत्तिकै हुन्छ । हरेक विद्यालयमा अभिभावकले दायित्व पूरा गर्ने व्यवस्था राज्यले बनाइदिनुपर्छ । शिक्षक र अभिभावक दुवैले विद्यार्थीको सिकाइमा कसरी सहयोग पुर्याउन सक्छन्, त्यसबारे व्यवस्था गर्नुपर्छ ।’