काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको व्यापार घाटा कम गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंको भृकुटी मण्डपमा आयोजित ‘दोस्रो हिमालयन एक्सपो २०२३’ को उद्घाटन समारोह लाई सम्बोधन गर्दै उनले देशको व्यापार घाटा कम गर्न उत्पादन निर्यात गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘विकासको निम्ति पुँजी निर्माण र त्यसको कार्यान्वयनका साथै चुलिँदै गएको व्यापार घाटालाई कम गर्नुछ । व्यापार घाटा कम गर्न हामीले आफ्नो देशको उत्पादन निर्यात गर्न सक्नुपर्छ । त्यसो नगरी कसैलाई अनुरोध गरेर निवेदन गरेर कम हुन्न । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सक्नुपर्छ ।’
उनले राजनीतिक परिवर्तनलाई माध्यम बनाएर देशको सामाजिक–आर्थिक रूपान्तरण गर्नु पर्ने तर्क गरे ।
उनले भने, ‘राजनीतिक परिवर्तनलाई साधन र माध्यम बनाएर यो देशको सामाजिक–आर्थिक रूपान्तरण गर्नु विकासको प्रक्रियामा तीव्रता दिनु र नेपाललाई समृद्ध देश बनाएर जनतालाई सुविधा दिनुपर्छ । राजनीतिक अधिकार मात्रप्राप्त गरेको होइन, हामीले जीवन फेर्न पायौँ र नयाँ नेपाल बनेको अनुभूति गराउन सक्नुपर्छ ।’