काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सबै सरोकारवाला क्षेत्रहरुले मानसिक स्वास्थ्य प्रवर्धनका कार्यहरुलाई प्राथमिकता दिनु आवश्यक भएको बताएका छन् ।
विश्व मानसिक स्वास्थ्य दिवस विशेष कार्यक्रमलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले मानसिक स्वास्थसँग सम्बन्धित अज्ञानता, अन्धविश्वास, कुरितीलाई न्यूनिकरण गर्न प्रभावकारी पहल अगाडि बढाउँनु पर्ने भन्दै यसमा सबै क्षेत्रको भूमिका आवश्यक रहेको बताए ।
उनले भने, ‘मानसिक स्वास्थसँग सम्बन्धीत अज्ञानता, अन्धविश्वास, कुरितीलाई न्यूनिकरण गर्न प्रभावकारी पहल अगाडि बढाउँनु पर्ने आवश्यकता छ । सबै क्षेत्रहरुले मानसिक स्वास्थ्य प्रवर्धनका कार्यहरुलाई प्राथमिकता दिनु आवश्यक हुन्छ। सबै नागरिकको मानसिक स्वास्थ्यको लागि मानसिक स्वास्थ्यको सेवालाई विस्तार गर्न प्राथमिक स्वास्थ सेवासँगै एकीकृत गर्दै लैजाने पहल कदम सरकारले अगाडि बढाएको छ ।’
उनले नर्सिङ र स्वास्थ्य शिक्षासँग सम्बन्धित ऐनमा देखिएका समस्यालाई समाधान गर्ने अठोटका साथ अगाडि बढेको भन्दै स्वास्थ्य र शिक्षा मन्त्रालयसँग मिलेर समस्यालाई छिटै समाधान गर्ने विश्वास दिलाएका छन् ।
तर्जुमा गरेका नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न प्रभावकारी समन्वय र सहकार्य पनि आवश्यक भएको भन्दै उनले त्यसका लागि आवश्यक स्रोत र साधनको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताए ।
उनले भने, ‘स्वास्थ्य सेवा नीति निर्माताले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस सम्बन्धी नीति निमार्ण, योजना तर्जुमा गर्दा सरोकारवाला पक्ष र निकायको प्रतिनिधित्व गर्ने तर्फ गम्भीर ध्यान दिनुपर्छ ।
तर्जुमा गरेका नीति र कार्यक्रमहरु कार्यान्वयन गर्नको लागि प्रभावकारी समन्वय र सहकार्य पनि आवश्यक हुन्छ । त्यसका लागि आवश्यक स्रोत र साधनको व्यवस्था गर्न नेपाल सरकार गम्भीर रहेको कुरा जानकारी गराउँन चहान्छु ।’
स्वास्थ्य सेवामा सबै नागरिकका समान पहुँच पुर्यउँने कार्यलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखे पनि संविधानले परिकल्पना गरे अनुसार ऐनको व्यवस्था, नियमावली र शैली सुधार गर्ने काम अझै बाँकी रहेको पनि उनको भनाई छ ।