उमाकुण्ड गाउँपालिकामा घुम्ती शिविर सञ्चालित

उमाकुण्ड गाउँपालिकामा  घुम्ती शिविर सञ्चालित

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले जनताको घर दैलोमा सरकारी सेवा पुर्याउने हेतुले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउने देखि व्यवसाय दर्ता गर्नेसम्मले सजिलै सेवा लिएका छन् ।

गाउँपालिकाले सात वटै वडामा एकीकृत घुम्ती सञ्चालन गरी सेवा उपलब्ध गराउने जनाएको छ ।
वडा कार्यालयमा नै नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, अपाङ्गता परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र, व्यवसाय दर्ता तथा नवीकरण, योजना सम्झौता लगायतका विभिन्न कार्यका लागि गाउँपालिकाले शिविर सञ्चालन गरी नागरीकलाई आवश्यक सेवा सरल रुपमा उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिए ।

वडा नं ७ को भूजीमा भएको शिविरमा २७ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । ५४ जनाको राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन भएको छ । साथै, अपाङ्गता परिचयपत्र नौ वटा र ज्येष्ठ नागरिक परिचयपत्र एक वटा वितरण गरिएको छ । ६ वटा विभिन्न योजनामा सम्झौता भएका छन् । त्यस्तै शिविरमा तीनवटा व्यवसाय दर्ता र २५ वटा व्यवसायको नवीकरण गरिएको छ । उक्त शिविरमा हालसम्म ५४ हजार ८ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

वडा नं ६ को गुप्तेश्वमा सञ्चालन भएको शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र लिने १२ जना, अपाङ्गता परिचयपत्र सात जना, ज्येष्ठ नागरिक परिचयपत्र चार जनाले पाएका छन् । शिविरमा चारवटा योजनामा सम्झौता भएको र अन्य चारवटा व्यवसाय दर्ता र आठवटा व्यवसाय नवीकरण गरिएको प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिए ।
शिविरमा २९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

भौगोलिक रूपले विकट सो गाउँपालिकाका नागरिकले आफ्नै वडाबाट सरल र सहज रुपमा सरकारी सेवा पाउन भन्ने हेतुले सञ्चालित शिविरबाट धेरै नागरिकले सेवा लिएका छन् ।

गाउँपालिकाले उद्योग नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र नियमित रूपमा वडाबाटै नै वितरण गर्ने गरी व्यवस्था गर्न लागेको जानकारी लामाले दिए ।
‘नागरिकलाई आउन जान सारै गाह्रो भयो । ज्येष्ठ नागरिक परिचयपत्र र व्यवसाय नवीकरणको जिम्मा वडालाई अधिकार प्रत्यायोजन गरेर दिन्छौँ । अपाङ्गता परिचयपत्र पनि हामी आफैँ गाउँमा गएर प्रदान गर्छौ । नागरिकले साह्रै दुःख पाए, अब हामी खबर पाएपछि आफैँ जान्छौ र सेवा दिन्छौ’, लामाले भने ।

लामाका अनुसार सातवटा वडा रहेको सो गाउँपालिकाका सबै वडामा शिविर सञ्चालन गरीने छ । वडा नं ७ बाट सुरु भएको शिविर वडा नं १ मा पुगेर असोज २४ गते सकिने उनको भनाई छ । हालसम्म २ वटा वडामा शिविर समापन भैसकेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्