काठमाडौं । सर्लाहीको मलंगवामा भएको घटनालाई, पीडित कृष्ण यादवले आफू हिन्दु भएकै कारण पीडित हुनु परेको गुनासो गरेका छन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कृष्ण भगवानको मूर्ति विसर्जनको क्रममा मुस्लिम समुदायहरुले ढुंगा, ईंटा हान्ने र तातोपानी, फोहोर पानी बर्साउने गरेपछि विवाद सुरुवात दाबी गर्दै अझैपनि आफूमाथि सुरक्षा चुनौति रहेकोब बताए ।
मुस्लिम समुदायका केही व्यक्तिहरुले आफ्नो स्वार्थ पूरा गर्नका लागि हिन्दुमाथि आक्रमण गरेपनि सरकारले उनीहरुलाई कारबाही नगरेर उल्टो संरक्षण गरेको उनको आरोप छ ।
सनातनदेखि मनाइरहेको श्रीकृष्ण जन्माष्टमी पुजा गरेर मूर्ति विसर्जन गर्ने गराउने हाम्रो मिथिलाको चलन हो । सो क्रममा श्रीकृष्णको मूर्तिमाथि ढुंगा, इटा, तातोपानी, फोहोर पानी बर्साउने केही मुस्लिम अतिवादीलाई प्रहरीले आजसम्म किन समाउन सकेको छैन ?’ प्रश्न गर्दै उनले भने ।
उक्त घटनापछि भदौ २३ गते त्यहाँका हिन्दु समुदायले दोषीमाथि कारबाहीको माग गर्दै बन्द गराएको उनले बताए । उक्त क्रममा विरोध प्रर्दशन भएको भएको र त्यसको केही समयपछि मलंगवा नगरपालिका पछाडि रहेको हनुमान मन्दिरको पुजारीलाई मुस्लिमहरुले ज्यान मार्ने धम्की दिएरको उनको आरोप छ ।
प्रहरी प्रशासनले निश्पक्ष छानविन गरेर दोषीमाथि कारबाही गर्नुको साटोे निर्दोष सनातनी धर्मालम्वीहरुलाई नै नियन्त्रणमा लिएर अनावश्यक दुःख दिएको उनको भनाई छ ।
‘हिन्दु मुस्लिम लडाउने केही मान्छे छन् । म पीडित मान्छे, मलाई कसले न्याय दिन्छ ? मलाई उल्टै प्रहरीले नै हिर्काएको छ । मैले केही गल्ती पनि गरेको छैन । मैले गल्ती नगरेरै कुटाइ खाएको छु ।’ उनले भने, ‘मेरो शरीरमा कुनै अंग छैन, जहाँ मलाई कुटेको छैन । सरकारसँग म त्यही भन्न चाहन्छु– गल्ती के थियो मेरो भनिदिन पर्यो । अनि दोषीलाई कारबाही गरिनुपर्यो ।’
ढुंगा हान्ने, अफवाह फैलाउने, द्वन्द्व निम्त्याउने र तरबार देखाउनेहरु खुलेआम हिँडिरहेको बेला आफूले केही नगरेपनि एक महिनादेखि लुकेर बस्नुपरेको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले देशको विभिन्न ठाउँमा धार्मिक द्वन्द्वको अवस्था सिर्जना भएको भन्दै त्यसमा आफ्नो ध्यानाकार्षण भएको बताए । गृह प्रशासनले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा सबैतिर अवस्था तनावपूर्ण बनेको उनको दाबी छ ।
विगत केही समयदेखि देशका विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्किने गतिविधि बढिरहेका छन् । पछिल्लो समय सर्लाही, धरान, नेपालगञ्जका स्थानीयले धार्मिक द्वन्द्वको पीडा झेल्नुपर्यो ।
सर्लाहीको मलंगवामा हिन्दु र मुस्लिम समुदायबीच सुरु भएको विवाद अहिलेसम्म सेलाएको छैन् । गत भदौ २२ गते श्रीकृष्ण जन्माष्टमीको मूर्ति विर्सजनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएको थियो ।