काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको सरकार जनताको हितमा नभएको बताए ।
शुक्रबार काठमाडौं नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा उनले टाट पल्टिँदै गएको, वर्तमान सरकार जनताको हितमा नभएको दाबी गरे ।
‘आर्थिक हिसाबले हेर्ने हो भने वर्तमान सरकार टाट पल्टिँदै गएको अवस्थामा छ । सरकारले केही गर्न सकेको छैन् । सरकार गठन भएसँगै यो सरकारले वैधानीक राज्यलाई कमजोर बनाउने , अर्थतन्त्रलाई कमजोर बनाउने , व्यवसायीहरूलाई निरुत्साहित गर्ने काम गरेको छ र अवैध काम गर्ने तस्करी गर्ने कालोबजारी गर्ने हरुलाई कमिसन खानेहरुलाई भने प्रोत्साहित गरेको छ । ’
राज्यलाई कमजोर बनाउने , नागरिक आर्थिक रूपले संकट ग्रस्त हुने तर सत्ता निकट भएको एक जना व्यापारिक मात्र सम्पत्ति वर्षमा ४० अर्ब रुपैयाँ हुने अवस्था देशको भएको उनको भनाई छ ।
उनले यो गठबन्धनको सरकार जनताको लागि नभई ,भ्रष्टाचार गर्ने ,कालोबजारी गर्ने र कमिसनखोरको लागि भएको बताए ।
‘सफल भएको दुइतिहाईको सरकारलाई अदालतको परमादेशको माध्यमबाट जबरजस्ती ढंगले हटाउने काम भयो । जनताको व्यापक निराशा पैदा गर्ने खालको काम भयो । ’
सरकारकै कारण न्यायलयप्रति जनताको विश्वास टुटेको उनको भनाई छ ।
व्यवस्थापिका संसद् नेतृत्व त्यतिबेला नेकपा एमालेलाई विभाजित गर्ने हतियारको रुपमा प्रयोग भएको उनको भनाई छ । आजको सरकारले कुनै पनि सकारात्मक काम नगरेको उनको भनाइ छ ।
‘पार्टीका हरेक अभियानमा देखिएका अनुहार नै नेतृत्वमा स्थापित होस कामचोरहरुलाई नेतृत्व दिने हैन् । निश्क्रियहरुलाई नेतृत्व दिने हैन् ।’
नेतृत्वलाई जोडेर विभिन्न विभाजन गर्ने प्रयत्नहरु भईरहेको भन्दै उनले, त्यसमा सक्रिय कार्यकर्ताको उदासिनताले पनि काम गरिरहेको बताए ।
नेताहरु गैर जिम्मेवार बन्दा सामाजिक अराजकता बढ्यो
सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, अहिले नेतृत्वमा रहेको राजनीतिक पार्टीका नेता गैरजिम्मेवार बन्दा सामाजिक अराजकतालाई बढावा मिलेको आरोप लगाएका छन् ।
‘राष्ट्रियहितको लागि मिसन ८४ मा लाग्नु पर्छ । देशमा समाजिक अराजकता देखिएको छ । अहिले नेतृत्वमा रहेको राजनीतिक पार्टीका नेताहरुका गैर जिम्मेवार भूमिकाले सामाजिक अराजकतालाइ बढावा मिलिरहेको छ । यो अराजकताको अवस्था बढ्दै गायो भने हाम्रो मुलुक डर लाग्दो संकटको सामु पुग्नेछ । ’
उनले राजनीतिक स्थिरताको सुनिश्चितता गर्न आवश्यक भएको बताए । राष्ट्रिय सुरक्षा र आर्थिकहितका कुराहरु दिन दिनै क्षतिग्रस्त आवस्थामा पुगेको उनको भनाई छ ।