काठमाडौं । राष्ट्रियसभाका सांसद कुमार दशौंदिले चाडपर्वको बेलामा जनता कालोबजारी र महंगीको मारमा परेको तर सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।
उनले कालोबजारी नियन्त्रण गरी जनताका समस्या सहजीकरण गर्न सरकारलाई आग्रह गरे ।
बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार जनतालाई सेवा गर्न भन्दा आफैं कमिसन खोज्नमा व्यस्त भएको भन्दै आक्रोस पोखे । उनले महंगी र गरिबीको मारमा परेका जनतालाई सरकारले राहत दिनुपर्ने भन्दै सरकार जनउत्तरदायि बन्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘जनतालाई मारेर जनतासँग लुट्नका लागि यो सरकार बनेको हो कि जनतालाई सेवा, सुविधा, राहत उपलब्ध गराउन बनेको हो ? यसको जवाफ सरकारले दिनुपर्छ ।’
उनले महंगिको मारले थिचिएका जनतालाई तत्तकाल राहत दिन समेत सरकारसँग माग गरे ।
‘हिजो जस्तै सामन्ती सोच र संस्कारबाट सरकार चलाइरहेका छौं कि लोकतान्त्रिक व्यवस्थाभित्र रहेर जनताबाट जनमत लिएर जनतालाई राहत दिने गरी सरकार चलाइरहेका छौ ? यसको जवाफ सरकारले दिनुपर्छ’ उनले भने ।
ठूला चाडवाड नजिकै आएको बेलामा उपभोग्य वस्तुको अभाव गराउने कालाबजारीहरु सक्रिय रहेको भन्दै उनले अनुगमनको नाममा पैसा कताबाट आउँछ भन्नेतिर मात्र ध्यान दिइने गरेको आरोप लगाए ।
उनले बझाङ भूकम्प पीडितलाई राहत दिन सरकारले तदारुकता नदेखाएको भन्दै त्यसमा सक्रिय रुपमा तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिए ।