विराटनगर । सर्वोच्च अदालतको परमादेशबाट गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आगामी शनिबार विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिने दिन नजिकिए पनि उनले बहुमत सदस्यको साथ पाउने निश्चित देखिएको छैन ।
कोशी प्रदेशको प्रदेश सभा बैठक हिजो बसेको थियो । २०७९ पुस १७ मा कोशी दोस्रो कार्यकालको पहिलो बैठक बसेको प्रदेशसभाको हालसम्म तीनवटा अधिवेशन सकिएका छन् । यो अधिवेशनमा असोज २० गतेभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।
विश्वासको मत लिन दुई दिन बाँकी भए पनि कार्कीले विश्वासको मत पाउने टुंगो भने छैन । ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ४७ सांसदको सअर्थन चाहिन्छ ।
कार्की आबद्ध दल नेकपा एमालेसँग ४० सभासद छन् । त्यसमध्ये एकजना उपसभामुख छन् । एमालेलाई साथ दिंदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ६ जना सभासद छन् ।
एमाले र राप्रपाको मत जोड्दा कार्कीको पक्षमा ४५ मत मात्रै देखिन्छ । राप्रपाले पनि विश्वासको मत दिने नदिने निर्णय गरिसकेको छैन । राप्रपाका नेताहरुले आफूहरुले साथ दिए पनि बहुमत नपुग्ने अवस्थामा मत दिने कि नदिने भन्ने यकिन नभएको बताउँछै आएका छन् ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएमा धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार बन्नेछ ।
कोशी प्रदेशसभामा कांग्रेसका २९ जना सभासद छन् । यस्तै, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एकमात्र सभासद छन् ।