काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापाले निर्वाचन प्रणाली सुधारको सन्दर्भमा बन्ने नियममा बहस गरेर अगाडि बढ्ने समितिको योजना रहेको बताएकी छन् ।
राष्ट्रिय सभाअन्तरगत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले निर्वाचन प्रणाली देशको प्रणालीसँग जोडिएको भन्दै यसलाई सुधार गर्नका लागि समितिले सकारात्मक ढङ्गले छलफल गर्दै जाने बताइन् ।
उनले भनिन्, ‘यो छलफल निरन्तर रुपमा गर्ने कार्ययोजना छ । यो हाम्रो प्रणालीसँग जोडिएको निर्वाचन प्रणाली सुधारको सन्दर्भमा अब बन्ने नियममा सकारात्मक ढङ्गले बहस गरेर अगाडि बढ्ने भन्ने योजना छ । निर्वाचन आयोगले सरकारलाई प्रस्तुत गरेको मस्यौदामा के छ, अहिले अध्ययन अनुसन्धानबाट के निष्कर्षहरु आइरहेको छ र त्यसका आधारमा निर्वाचन कानून व्यवस्था बनोस् भन्ने हाम्रो चाहना हो ।’
बैठकमा समिति सदस्य बिमला राई पौडेलले निर्वाचनमा उम्मेदवारी दिँदा ५० प्रतिशत महिला हुनुपर्ने चलन नभएका कारण महिलाहरु सबै समानुपातिकबाट मात्रै आउनु परेको भन्दै यो विषय छलफलमा आउनु पर्ने बताइन् ।
उनले भनिन्, ‘संविधानको धारा ३८ ले सबैको समानुपातिक सहभागिताको कुरा गर्छ । अहिलेको निर्वाचनसम्बन्धी कानूनमा ५० प्रतिशत महिलाको उम्मेदवारी सुनिश्चित हुनुपर्छ । अहिले हेर्दा महिलाहरु सबै समानुपातिकबाट नै आउनु पर्ने अवस्था छ । किनभने उम्मेदवारमा ५० प्रतिशत महिला दिने चलन नै छैन । यो हाम्रो छलफलमा आयो कि आएन ?’