काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ दल भन्दा पनि नयाँ प्रवृत्ति हुनु आवश्यक रहेको बताएका छन् । शनिबार कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सहकारी ठगी प्रकरणमा नयाँ दलका अध्यक्ष आरोपी भएर पनि बचाउन खोजिएको बताएका हुन् ।
उनले नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्दा पनि दलकाहरुले हाम्रो अध्यक्षमाथी छानविन गर्न हुँदैन भनिरहँदा त्यो दल कतिको सक्षम होला भन्दै प्रश्न उठाए । उनले पुरानो दल कांग्रेसका उपसभापति धनराज गुरुङमाथी पनि सहकारी ठगीको आरोप लागेकाले छानविन गर्नुपर्ने बताए ।
उनले भने, ‘नयाँ दल भनेर हुँदैन नयाँ प्रवृत्ति हुनुपर्छ, नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्यो तर त्यो दलकाहरुले हाम्रो अध्यक्षमाथी छानविन गर्न पाईंदैन भनेर भन्यो । पुरानो दलको उपसभापति धनराज गुरुङलाई सहकारी ठगीको आरोप लाग्यो, उहाँ आफैंले संसदमा उभिएर म माथी छानविन गर्नुस् भनेर भन्नुभयो । नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्दैगर्दा उनीहरु भन्छन् छानविन गर्न मिल्दैन तर हामी भन्छौं उहाँमाथि छानविन हुनुपर्छ । उहाँमाथि छानबिन सुरु भएको छ । त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस लाग्दैन । सीआईबीले छानबिन गरिरहेको छ । धनराज गुरुङ छानविन गर्दा निर्दोष देखिनुहुन्छ, माला लगाएर कांग्रेसको नेतृत्व गर्नुहुन्छ । दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ ।’
त्यस्तै, उनले निर्वाचनमा पपुलर भोट ल्याउने पार्टीले सरकार चलाउनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे । शर्माले स्थिर सरकार नभई जनतामा देखिएको निराशा भत्काउन नसकिने बताए ।
उनले २७५ सदस्यीय प्रतिनिधिसभालाई १८५ मा झार्नुपर्ने बताए । महामन्त्री शर्माले भने, ‘सरकारको नेतृत्व गर्ने अधिकार सीटमा मात्रै होइन, पपुलर भोट जसले बढी ल्याएको हुन्छ, त्यसलाई हुन्छ । त्यस्तो भए पनि हामीले अहिले जस्तो दोस्रो, तेस्रो, चौथोलाई फकाएर, गाँसेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ । हामी दोस्रो भयौं भने हामी पनि ५ वर्षसम्म सरकार बाहिर बस्छौं । २० सीट छ, समर्थन गर्न गृह मन्त्रालय चाहियो । यस्ताका दिन सकिन्छ, त्यो व्यवस्था गर्न सकेपछि ।’