nepal ahile circle final NEW

गण्डकीमा अफ्रिकन स्वाइन फिभरको पुनः संक्रमण, सर्तकता अपनाउन सरकारको आग्रह

गण्डकीमा अफ्रिकन स्वाइन फिभरको पुनः संक्रमण, सर्तकता अपनाउन सरकारको आग्रह

विमल तिवारी , पोखरा । गण्डकीका विभिन्न जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएसँगै सचेत रहन आग्रह गरिएको छ । कास्की, तनहुँ, लमजुङ र गोरखामा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जानकारी दिएको छ । सोमबार पत्रकार सम्मेलन गदै निर्देशनालयले बंगुर- सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभरको संक्रमण बढ्दैँ गएको जनाएको छ ।

पछिल्लो २ महिनामा गण्डकीका कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४ र गोरखामा १३ गटा गरी एक सय १२ वटा बंगुर मरेको निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाई ढकालले जानकारी दिइन् ।

‘अफ्रिकन स्वाइन फिभर’ रोगको उपचार नरहेकोले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन ढकालले आग्रह गरिन् ।
‘देखिए पछि गार्हो छ नियन्त्रण गर्न, भाइरल राग हो उपचार खासै छैन । जैविक सुरक्षाको उपाय अपनाउनु वाहेक अर्को उपाए छैन, कुनै भ्याक्सीन पनि छैन । आफ्नो फार्ममा अरुलाई छिर्न नदिने, वाहिर गएर आए पछि कपडा, जुत्ता फेरेर मात्र छिर्ने ।’

बंगुर पालिएको खोर र फार्मपरिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर फर्मालिनलगायत उपाय प्रयोग गरी निसंक्रमण गर्न, रोगको शंका लागेका पशुलाई स्थानबाट छुट्याएर अलग्गै राख्ने, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने तथा जलाउनुपर्नेजस्ता सुरक्षाका उपाय अपनाउनुपर्ने विज्ञले सुझाव दिएका छन् ।

यस्तै, घरपालुवा बंगुर र सुँगुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिन, संक्रमण देखिएको क्षेत्रबाट सुँगुर प्रजातिका पाठापाठी, संक्रमित मासु र दाना ओसारपसार नगर्न निर्देशनालयले आग्रह गरेको छ । अनिवार्य स्वास्थ्य प्रमाणपत्र लिएर मात्र स्वस्थ सुँगुर, बंगुर वा मासु ओसारपसार गर्नुपर्ने फालिएका खानेकुरा बंगुरलाई नखुवाउन आग्रह गरिएको छ । यस्तै, तयारी दानाबाहेक अन्य आहारा खुवाउनुपरे राम्ररी पकाएर मात्र खुवाउन ढकालले आग्रह गरिन् ।

यो रोगको संक्रमण हुदाँ पशुमा उच्च ज्वरो, शरीरमा निलो धब्बा देखिने, छेर्ने, वान्ता गर्ने, झोक्राउने जस्ता लक्षण देखा पर्ने पशुचिकित्सक बालकुमार श्रेष्ठले जानकारी दिए । रोग लागे पछि मृत्यु दर सत प्रतिशत हुने भएकाले रोगलाग्नबाट जोगाउनु नै यसको एक मात्र उपाए रहेको श्रेष्ठले बताए ।

गत वर्ष गण्डकीमा १५ हजार भन्दा बढि बंगुर यो रोगबाट मरेका थिए । त्यस यता बंगुरपालक कृषको संख्यामा समेत उल्लेख्य कमी आएको निर्देशनालयले जनाएको छ ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालय, गण्डकीका सचिव डा. टंकप्रसाद पर्साइले जैविक सुरक्षा नै अहिलेको सबै भन्दा उत्तम उपाय रहेको बताए । अहिलेसम्म भ्याक्सीन विकास भइनसकेको र अवस्थामा सुरक्षाका उपाय अपनउनुको विकल्प नरहेको पर्साइको भनाई थियो ।

पशु पंक्षी रोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख किरण पाण्डेले बंगुर पालेर छोडेका खाली खोरमा पनि यो रोग देखिएकाले सुरक्षाका उपायहरुलाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए । खोर खाली भइसके पछि निशंक्रमण गरेर राख्न सकेमा पुनः यो रोग फैलनबाट बच्न सकिन्छ, न्युनीकरण हुन्छ, पाण्डेले भने ।

गएको साउनदेखी गण्डकीमा यो रोगको संक्रमण भेटिएको थियो । पहिलो पटक पर्वतमा भेटिएको अफ्रिकन स्वाइन फिभर थप फैलिन नदिन कृषहरुलाई सचेत गराउन निर्देशनालयले काम गरिरहेको जनाएको छ ।

गत वर्ष हजारौँको संख्यामा सुँगुर, बंगुर र बँदेलको मृत्युको कारक बनेको अफ्रिकन स्वाइन फिभर यस वर्षसमेत उच्च संक्रमण दर रहेकाल सजगता अपनाउन नेपाल सरकारले समेत सचेत गराएको छ । अफ्रिकन स्वाइन फिभर मानिसमा भने नसर्ने विज्ञको भनाई छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्