विमल तिवारी,पोखरा । पाेखराकाे बेगनास ताल बसपार्कबाट तलबेसी तर्फ लागे पछि भत्केको सडकको यात्रा निकै कष्टकर छ । वर्षातमा हिलाम्य हुने सडक हिँउदमा भने धूलाम्य छ । स्तरोन्नतीको लागि ठेक्का लागिसेको सडक न निर्माण प्रकृया निरन्तर छ न मर्मत संभार नै भएको छ ।
धूलोमैलोले हामीलाई गार्हो छ, घरमा बसेछ धूलो महिलोले पुरिएर हामी हिड्नैँ नपाउने अवस्था भयो । वर्षातमा हिलो हिँउदमा धुलो असोजबाट पानी आएको छैन, ठेकेदारले एक पटक पानी हालेका थिए त्यस यता देखिएको छैन–पोखरा महानगरपालिका–३१ पचभैँयामा शोमबहादुर परियारले भने ।
‘बाटोले दुःख दिएको छ धुलो मैलो खाएर बस्नु परेको छ’ यो बाटो कहिले बन्छ ? कहिले हुन्छ सुविधा आनन्दले बस्न नी नपाईने भयो परियारले भने– ‘कोट पाइन्छ दिन दिनै फेर्न पर्छ हिड्यो की धूलो भइहाल्छ ।’
बेगनास–भोर्लेटार सडक तीन दशक पहिले ट्रयाक खोलिएको कास्कीको पुरानो सडक हो । यो सडक अन्र्तगत बेगनास– रामकोट खण्ड तीन भागमा बाडेर स्तारेन्तीको लागि ठेक्का लगेको छ ।
ड्रागन जेएसआर जेभीले २०७९–३–२७ बाट निर्माण सुरु गरेर २०८१ पुष २० मा सम्पन्न गर्ने संझौता गरेको छ । हालसम्म ३५ प्रतिशत काम भएको छ । चालु आर्थिक वर्षमा १ करोड बजेट बिनियोजन भएकोमा गत वर्ष गरेको कामको भुक्तानी दिए पछि चालु आर्थिक वर्षका लागि एक रुपैया पनि बजेट नभएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । बजेट नभएको भन्दै ठेकेदारले काम अगाडी बढाएको छैन ।
यो सडक २०६५ सालमा कालोपत्रे भएको थियो । अहिले सडकको अवस्था निकै नाजुक छ । स्थानीयले सडक अस्तब्यस्त भएको भन्दै जनप्रतिनिधिको समेत ध्यानकर्षण गराएका छन् । तत्काल निर्माण अगाडी नबढाए उनीहरूले अनसन बस्ने चेतावनी दिएका छन् । स्थानीय राजेश थापाले बाटो भत्काइसके पछि निर्माण प्रकृया रोक्दा स्थानीय प्रताडित भएको बताए ।
‘बाटो भत्काइदिनु भयो, अब एक वर्ष पछाडी बनाउने हो भने अब भत्काएर बनाउन थालेको भए अहिलेसम्म घूलो त खानुपर्ने थिएन । बनाउने भनेको छ, बेगनासतालको मुखकको एउटा घरलाई देखाएर सबै पन्छिरहेको छ, ठिक छ त्यो घर अवरोध छ, घरको अवरोध छ भने त्यसलाई थाती राखेर एउटा समाधान निकालौँला । जहाँ–जहाँ चाक्लो बनाउन मिल्ने छ त्यहा बनाउन किन सक्दैनौँ ।’
थापाले सडक मर्मत वा निर्माण प्रकृया अगाडी नबढाए चैत्र १ गतेबाट सडकको मुखमैँ (बेगनास बसपार्क) अनसन बस्ने बताए ।
बेगनास देखी तालबेसी ,तालबेसी हुदैँ हान्गेबान्गे हुदैँ हंसपुर रामकोटसम्मको बाटोको अवस्था अत्यन्तैँ दयनिय छ । यो बाटो बनाउन सरकारको तर्फबाट पैशा पनि छुट्याएको छ, टेण्डर पनि भएको छ, ठेकेदार छनोट भएर काम पनि सुरु गरेको छ । काम गर्न जादाँ बन मन्त्रालयले छेक्यो काम गर्न सकिएन भन्ने तर्क छ । अर्को तर्क सरकारले पैसा दिएन भन्नी छ– रुपा गाँउपालिका–७ हंसपुरका कालिदास सुवेदीले भने– यी दुई कुरैँ व्यवहारीक कुरा हैनन् ।
यती ठुलो आयोजना सुरु गर्ने भनिसकेपछि यसको वातावरणीय प्रभाव मुल्याङकन गनुपर्ने हो । कति बन क्षेत्र कटान गर्न पर्ने यो यहाँ बाट वातावरणमा कस्तो प्रभाव पर्छ भनेर आयोजना पार्न पाएको भए राम्रो हुने थियो, सुवेदीले भने ।
वातावरणमा प्रतिकुल असर नपर्ने गरी ठेकेदारले तोकिएको समयमा काम सम्पन्न गर्ने गरी काम हुनेपर्ने सुवेदीले माग गरे ।
२०७९ जेठ ३० गते स्थानीयले सडक अस्तव्यस्त भएको, हिड्नै नसक्ने अवस्था भएको भन्दै माझिकुना चोकमा २ घण्टा चक्का जामनै गरे । स्थानीयले आफै जनश्रमदान गरेर पनि सडक मर्मत गर्ने गरेका छन् । तर, सडकको अवस्था दिनानुदिन बिग्रदो अवस्थामा छ ।
बजेट नभए पछि रोकियो काम
यही माघ १८ गते स्थानीयको सकृयतामा पोखरा–३१ तालबेसीमा सरोकारवासहितको भेला आयोजना गरिएको थियो । ठेकेदारले बजेटको समस्या देखाउदैँ काम गर्न नसकिने जवाफ दियो । निर्माण व्यवसायी कृष्णप्रसाद गौतमले समयमा सक्ने र क्वालिटिको काम गर्नेमा आफु प्रतिवद्ध रहेको तर, सरकारले बजेटको व्यवस्था गर्नुपर्ने बताए ।
‘म जहिले पनि समयमा काम गर्छु, क्वालिटि पनि गर्छु, हाम्रो १० अर्ब पैसा सरकारसँग बाँकी छ, हामी निर्माण व्यवसायीको आन्दोलनमा छौँ, जवरजस्ती गर्नु त भएननी ।’
सडक डिभिजन पोखराका साइट इन्जिनियर प्रतिक प्रधानले चालु अर्थिक वर्षमा एक करोड बजेट बिनियोजन भएकोमा गत आर्थिक वर्षमा भएको कामको मुल्याङकन गरेर भुक्तानी दिइसकिएको बताए । थप बजेट नभएकाले सरकारसंग माग गरिएको उनले बताए ।
‘नयाँ कामका लागि भनेर बजेट नभएको हुनाले उहाँहरूले त्यही इस्युलाई देखाएर काम रोक्नु भएको छ । पाँच करोड ६० लाख भुक्तानी भएको छ । १७ करोड ६० लाखमध्य अब १२ करोड जति पैँसा आउनुपर्छ, करिब ३५ प्रतिशत जति काम भएको छ ।’
जनप्रनिधिको बचन बजेटको लागि पहल गर्छौँ
गण्डकीका पूर्वमुख्यमन्त्री एवं प्रदेश सभा सदस्य खगराज अधिकारीले बजेटका लागि सरकारसँग डेलिगेसनका लागि सुझाए ।
‘पाँच करोड दिए अहिले गर्दीन्छु भनेर भन्नु भएकै छ पाँच पैँसा छैन । उपाएका वारेमा मैले केही कुरा गरेको छु, सकेसम्म राम्रैसँग डेलिगेसन जाँउ ।’
प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले संझौता गरेको समयमा निर्माण सक्ने गरी काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । समय भित्रमा तपाईले संझौता गरेको काम सक्नुपर्ने हो । यो राज्य र तपाईसंग जोडिएको कुरा हो, गुरुङले भने ।
राजनीतिक दलहरूले योजना दियो, जनताले सुविधा पाउनुपर्थ्यो । जनताको कारणले रोकिएको त हैन होला, यो राज्य र व्यवसायीकोबिचमा के बुझाइ भयो– ‘तपाइको संझौता भित्रको काम समयमा सक्नुपर्याे ।’ अरु के–के गर्नुपर्ने छ हामी गरौँला जनतालाई धूलो खुवाउने काम नगर्नु होला सांसद गुरुङले भने ।
बेगनासताल– तालबेसी–रामकोट सडकलाई तीन खण्डमा बाडेर ठेक्का लगाइएको छ । बेगनासताल–भञ्ज्याङ, भञ्ज्याङ– तालबेसी र तालबेसी–रामकोट गरी तीन खण्डमा ठेक्का भएको छ । भञ्च्याङ–तालबेसी (चार किलोमिटर) खण्डमा गण्डकी प्रदेश सरकारको ६ करोड ५० लाख, बेगनासताल–भञ्ज्याङ (चार दशमलब ८) र तालबेसी– रामकोट ( ४ दशमलब ८) सडकमा संघीय सरकारको १७ करोड ६० लाखमा ठेक्का लागेको थियो । प्रदेश सरकार अन्र्तगतको सडकमा बजेटको समस्या नभय पिन संघीय सरकार अन्र्तगतको ठेक्कामा बजेट बिनियोजना नभएको भन्दै ठेकेदारले काम गर्न मानिरहेको छैन ।
तीन खण्ड मध्य बेगनासताल–भञ्ज्याङ खण्ड मुख्य समस्या बनेको छ । उक्त खण्डमा प्रि–मिक्स कार्पेट पिचको ठेक्का लागेको छ । प्रि–मिक्सको मापदण्ड रोलरले थिचेर पेल्दा न्युनतम ३० देखि ४० एमएम हुन्छ । यो निकै कमजोर पिच हुने भएकाले ठेकेदारले तत्काल पिच नगर्ने मुडमा छन् ।
अहिले पिच गर्दा प्रि–मिक्स कार्पेट पिच कमजोर हुने भएकाले भत्कीहाल्छ । ‘यस्तो काम म किन अहिले गर्छु अन्तिममा गर्छु निर्माण व्यवसायी गौतमले भने ।’ सडकको मुखमा कमजोर पिच छ, पछाडी अक्सफाल्ट पिच गर्ने हो ।
ठेक्का अवधि सकिएको एक वर्ष पछि सम्म पनि सडक भत्केमा मर्मत गर्ने जिम्मा ठेकेदारको नै हुन्छ । एका तर्फ बजेटको अभाव छ, बजेट भए पनि म्याद सकिदा भत्कने सडकमा उनी तत्काल काम अगाडी बढाउने पक्षमा देखिदैनन् । रामकोट तर्फबाट काम गदैँ आएर अन्तिममा बेगनासताल–भञ्ज्याङ खण्डको काम गर्ने गौतम बताउछन् ।
बेगनासताल–भञ्ज्याङ खण्ड भत्केर खाल्डा खुल्डी र धूलाम्य भएकाले स्थानीय भने पहिला बनाउनुपर्ने पक्षमा छन् ।