nepal ahile circle final NEW

देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ असोज ५ गते मञ्चन हुने

देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ असोज ५ गते मञ्चन हुने

राजाराम पौडेल, पोखरा । नाटक ‘मुनामदन’ पोखरामा मञ्चन हुने भएको छ । यो नाटकमा मुना र मदनको अमर प्रेमलाई दर्शाइएको छ ।

जहाँ मदन धन कमाउनको लागि परिवार छोडेर ल्हासा जान्छन् र फर्कने क्रममा बाटोमा बिरामी हुन्छन् । बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथिहरू घर फर्कन्छन् । उनीहरुले मदनको मृत्यु भएको बताउँछन् । यो कुरा सुन्दा मुनालाई निकै पीडा हुन्छ । पीडा सहन नसकी उनको निधन हुन्छ । उता मदनको भने निधन भएको हुँदैन । उनलाई बाटोमा अलपत्र रूपमा एक जना भोटेले फेला पार्छन । भोटेले मदनको स्याहार गर्छन । मदन निको भएर घर फर्कन्छ । घर फर्कदा मूना र आमाको मृत्यु भइसकेको हुन्छ । शोकको पिडा सहन नसक्दा मदनको पनि निधन हुन्छ ।

पोखरा थिएटरले आयोजना गरेको पोखरा विद्यालय नाटक महोत्सवमा यो नाटक मञ्चन हुन लागेको हो । माउन्ट अन्नपूर्ण मा.वि, नदीपुरको प्रस्तुतीमा तयार भएको नाटक असोज ५ गते शुक्रबार दिउँसो साढे १ बजे गन्धर्व नाटकघरमा हेर्न पाइनेछ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको यो खण्डकाव्यको नाट्य रुपान्तरण र निर्देशन सोनिया कार्की खत्रीले गर्दैछन् ।

निर्देशक सोनियाले यो आफ्नो तेस्रो निर्देशन रहेको बताइन् । नाटकको संवाद लेख्दै जाँदा महाकवि देवकोटालाई याद गर्दै बनाएको उनले खुलाइन् । देवकोटाले लेखेको ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन,मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन’ शब्दले आफ्नोे मन छोएको कारणनै यो नाटकको निर्देशन गर्ने रहर जागेको उनको भनाई छ ।

माउण्ट अन्नपूर्ण मा.वि.का प्रधानाध्यापक सइन्द्र राज श्रेष्ठले साहित्यको जीवन्त विधा नाटकको माध्यमबाट समाज परिवर्तनका लागि थियटरले चालेको कदम सह्रानीय भएको बताए । मुनामदन जस्तो गहन कृतिमा माउन्ट अन्नपूर्ण मा.वि.का विद्यार्थीहरुले आफ्नो अभिनय कला प्रस्फुटन गर्ने सुअवसर प्राप्त गरेकोमा उनले खुशी व्यक्त गरें ।

‘यस कार्यले विद्यार्थीलाई विद्यालयको हाता र किताबका पानाभित्र मात्र सीमित नराखी कला साहित्यको विशाल संसारमा प्रवेश गराउने विद्यालयको उद्देश्य केही मात्रामा पूरा भएको छ’ उनले भने ।

आगामी दिनमा समेत यस्ता सिर्जनशील कर्ममा सहभागी हुने प्रतिवद्धता उनले व्यक्त गरें । नाटकमा अभिनय गर्ने कलाकारले भविष्यमा आफ्नो सिकाइलाई निरन्तरता दिने आशा विद्यालय परिवारले राखेको श्रेष्ठले खुलाए ।

नाटकमा दिपेश सुनार, एलिना घिमिरे, सुप्रिया तामाङ, विजय नेपाली, विद्या सुनुवार, शिवम् श्रेष्ठ, प्रविन शर्मा, सोमस घर्ती, एलिजा गुरूङ्ग, जेकिसा मगर, आइस्मा गर्बुजा पुन र शेशेन खड्काको अभिनय हेर्न पाइन्छ । दर्शकको माया पाउने उद्धेश्यका साथ कलाकारले आफूमा निखारता थपिरहेका छन् ।

‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको महोत्सव संयोजक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । थिएटरले २०७६ मा पहिलोपटक महानगरपालिका स्तरिय विद्यालय नाटक महोत्सव गरेको थियो । त्यसपछि गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सव आयोजना गर्‍यो । लगातार तीन वर्षसम्म प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले यसपटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गरेको हो ।

यो महोत्सवमा पोखराका १४ विद्यालयका नाटक र अतिथि नाटकको रुपमा काठमाडौंबाट थप एक नाटक गरेर कुल १५ नाटक मञ्चन हुने आयोजकले बताए । ती नाटकमा शिलान्यास, भूत, भोला, कोही किन बर्बाद होस्, अँध्यारामा बाच्नेहरू, खेल्ने बेला खेल्छौं, पढ्ने बेलामा पढ्छौं, कीर्तिपुरको युद्धमा, मुना मदन, पाठशाला, आँधीको मनोरम नृत्य, हिउँ जस्ती गोरी, कर्मको फल, यती, बिर्सन नसकिने मान्छे र मसान रहेका छन् । यि मध्ये केही नाटक मञ्चन भैसके । केही मञ्चन हुने क्रममा रहेका छन् ।

महोत्सवको लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्ड्रेनले सहकार्य गरेका छन् । महोत्सवको प्रवद्र्धकको रुपमा पोखरा महानगरपालिका कार्यालय रहेको छ ।

महोत्सवमा मञ्चन हुने सबै नाटक हेर्ने दर्शकको सहजताको लागि १ हजार रुपैयाँ तिरेर सदस्यता लिन सक्ने व्यवस्था मिलाइएको थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जनाए । भदौ २७ गतेबाट सूरु भएको महोत्सव असोज १२ गतेसम्म सञ्चालन हुनेछ । मञ्चन भएका हरेक नाटकलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले खुलाए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्