लोक गायिका हरिदेवी कोइराला अमेरिका प्रस्थान

  • नेपाल अहिले
  • भाद्र २१, २०८०
लोक गायिका हरिदेवी कोइराला अमेरिका प्रस्थान

राजाराम पौडेल, पोखरा । लोक गायिका एवम् साहित्यकार हरिदेवी कोइराला अमेरिका प्रस्थान गरेकी छन् । तीज सम्बन्धी कार्यक्रममा सहभागी बन्न उनी अमेरिका गएकी हुन् । एक महिने अमेरिका बसाइँमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गर्ने कार्यक्रम सहितका कार्यक्रममा सहभागी बन्ने उनले नेपाल अहिलेलाई बताइन् ।

२०४२ सालबाट निरन्तर तीजका गीत पस्कन सुरु गरेकी उनले यो वर्ष समेत ५ वटा तीज गीत तयार पारेकी छन् । यि  मध्ये केही गीत सार्वजनिक भैसके भने केही गीत सार्वजनिक हुने क्रममा रहेको उनले खुलाइन् । उनले पस्कने तीज गीतले नेपाली साँगीतिक क्षेत्रमा बेग्लै खालको ओझ बनाइ राखेको छ ।

२०४० सालमा ‘पाइन खबर’ बोलको गीत रेर्कड गरेर उनको साँगीतिक फाँटको औपचारिक यात्रा सुरु भएको थियो । त्यसोत उनले रेडियोमा गाएको पहिलो गीत भने ‘आँखाभरी आँशुको सहारा’ हो । हालसम्म उहाँका प्रकाशित लोकगीत तथा दोहोरी गीतका एलबम ७६ नाघिसके ।

उनका‘मेरो देशको छातीभित्र दुखेजस्तो लाग्छ’, ‘तरङ्ग’, ‘न घाम झर्‍यो  न जुन झर्‍यो’, ‘के छ हजुर हालचाल यता ?’, ‘सारङ्गीमा भुल्यो मन’ कविता–संग्रह प्रकाशित भइसकेका छन् । आफ्नै गीत आफ्नै भाका लोकगीत संग्रह र माइतै रमाइलो तीजगीत संग्रह प्रकाशित पुस्तक हुन् ।

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान को पूर्व प्राज्ञ सभासदस्य  रहेकी उनी विभिन्न साहित्यक तथा सामाजिक संघ संस्थामा समेत उतिकै क्रियाशिल छन् । आगामी अक्टुबर १० तारेखमा नेपाल फर्कने कार्यतालिका रहेको गायिका कोइरालाले जनाइन्।

© 2024 All Rights Reserved | Nepal Ahile Media