nepal ahile circle final NEW

चिस्यान केन्द्र : कतै निर्माणाधीन त कतै उपयोगविहीन

चिस्यान केन्द्र : कतै निर्माणाधीन त कतै उपयोगविहीन

खोटाङ, २ फागुन । किसानले उत्पादन गरेका कृषिउपज सङ्कलन तथा भण्डारण गर्ने उद्देश्यले जिल्लाका तीन स्थानीय तहमा चार वर्षअघि शीतभण्डार स्थापना गर्ने पहल थालिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपा, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु र रावाबेँसी गाउँपालिका–१ कुभिण्डेमा शीतभण्डार केन्द्र स्थापना गर्ने गरी भवन निर्माणको काम सुरु गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको शीतभण्डार उद्घाटन गरिएको ११ महिना पुग्न लाग्यो । संसदीय विकास कोषबाट विनियोजन गरिएको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको रु ५० लाख र नगरपालिकाको रु ४० लाख गरी रु ९० लाखमा निर्माण गरिएको शीतभण्डार केन्द्र गत २०७८ चैत–२५ गते उद्घाटन गरीयो ।

निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको शीतभण्डार केन्द्रको भवन नेकपा (एमाले)का पोलिटब्यूरो सदस्यसमेत रहेका पूर्व सांसद विशाल भट्टराईले आफू पार्टीको संसदीय दलका प्रमुख सचेतक भएको समयमा उद्घाटन गरे । तीस टन भण्डारण क्षमताको एउटा मात्र च्याम्बर रहेको उक्त चिस्यान केन्द्र उद्घाटन गरेकै दिनदेखि अहिलेसम्म साँचो लगाएर बन्द अवस्थामा छ ।

बुइँपाको पुरानो व्यापारिक केन्द्र पञ्चदोबाटोमा निर्माण गरिएको शीतभण्डार केन्द्रमा जिल्लाका किसानले उत्पादन गरेका कृषि उपज न्यूनतम मूल्यमा भण्डारण गरेर राख्ने र बाहिरी जिल्लामासमेत निर्यात गर्ने योजना बनाइएको थियो । चिस्यान केन्द्रमा राख्दा हरियो तरकारी महिनादिनसम्म र फलफूल चार महिनासम्म सुरक्षित रहने बताइएको छ । किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप शीतभण्डारकेन्द्र निर्माण गरेर सञ्चालनमा ल्याइएको निवर्तमान नगरप्रमुख दीपनारायण रिजालले बताए ।

नगरपालिकाको स्वामित्वमा रहने शीतभण्डार केन्द्रको रेखदेख वडा कार्यालयले गर्ने बताइए पनि अहिलेसम्म कार्यविधि बनेको छैन । पञ्चदोबाटोको दुई रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको शीतभण्डार केन्द्र उद्घाटन हुँदा बुइँपाका स्थानीय किसान हर्षित भएका थिए । तर, उद्घाटन गरिएको लामो समय बितिसक्दासमेत उक्त बुइँपा शीत भण्डार केन्द्र सञ्चालनमा नआएपछि अहिले उनीहरु (किसान) निराश बनेका छन् ।

जिल्लाभरका किसान तथा किसान समूहले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूल लगायतका कृषि उपज भण्डारण गर्नेगरी बुइँपामा निर्माण गरिएको शीतभण्डार केन्द्र जिल्लाकै पहिलो हो । तर, उक्त शीतभण्डार केन्द्र हालसम्म सञ्चालनमा नआउँदा पहिलो गाँसमै ढुङ्गा भन्ने उखानझैँ भएको छ ।

बुइँपाका उत्कृष्ट किसान समूह छनोट गरेर शीतभण्डार केन्द्र सञ्चालनको जिम्मा दिने तयारी गरिए पनि नगरपालिकाले कार्यविधि नबनाएका कारण उद्घाटन गरेको लामो समयसम्म सञ्चालन गर्न नसकिएको वडाध्यक्ष दिनेश राईले बताए । “किसान समूहले किसानका कृषिउपज भण्डारण गरेबापत मासिक रूपमा नगरपालिकालाई न्यूनतम भाडा बुझाउनुपर्छ”, उनले भने, “यसका लागि नगरले कार्यविधि बनाएको छैन । अब चाँडै कार्यविधि बनाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।”

नगरपालिकाभित्र निर्माण गरिएका तर, सञ्चालनमा नआएका भौतिक संरचनाका विवरण सङ्कलन गरेर कार्यपालिकाको बैठकमा छलफल गर्ने तयारी भइरहेको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । “नगरपालिकाको लगानीमा निर्माण गरिएका धेरै संरचना प्रयोगमा नआएको भन्ने बुझिएको छ”, उनले भने, “कतिपय ठाउँमा मापदण्ड विपरीतका संरचना बनेको भन्ने पनि आएको छ । यस विषयमा चाँडै कार्यपालिकाको बैठक राखेर कारबाहीको प्रक्रिया अगाडि बढाउने योजनामा छौँ ।”

पञ्चदोबाटोमा निर्माण गरिएको शीतभण्डार केन्द्र उपयुक्त ठाउँमा नभएको जिल्लाका किसानले आरोप लगाएका छन् । राज्यकोषको करिब रु एक करोड खर्चमा निर्माण गरिएको शीतभण्डार केन्द्र उपयोगविहीन बनेको विषयमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेशकुमार तामाङ, शैक्षिक अभियान्ता एवम् शुभम् फाउण्डेशनका प्रबन्ध निर्देशक सुर्य राई, पत्रकार लगायतको टोलीले १५ दिनअघि निरीक्षणसमेत गरेको थियो । उद्घाटनमै सीमित बनेको शीतभण्डार केन्द्रलाई आलु, सुन्तला, किबी लगायतका कृषिजन्य सामग्री भण्डारण गर्न उपयोगमा ल्याउन स्थानीय तहसँग समन्वय गर्ने जिल्ला समन्वय समितिका प्रमुख राईले बताए । तर, यस विषयमा अहिलेसम्म कुनै पक्षबाट पहल भएको छैन ।

दिप्रुङ चुइँचुम्मा गाउँपालिका–३ छोरम्बुको रोबलुङमा निर्माणाधीन शीतभण्डार केन्द्रको भवन अलपत्र अवस्थामा छ । संसदीय विकास कोषबाट विनियोजन गरिएको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको रु दश लाख बजेटमा एउटा भवन निर्माण गरिएको हो ।

तीन वर्षअघि निर्माण गरिएको भवन सञ्चालनमा ल्याउन गाउँपालिकाबाट रु दश लाख बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए । “गाउँपालिकाबाट विनियोजित बजेटबाट शीतभण्डार केन्द्र सञ्चालनका लागि आवश्यक उपकरण खरिद गर्ने तयारी भइरहेको छ”, उनले भने, “विद्युत् जडान, रङरोगन लगायतका काम सम्पन्न गरेर सञ्चालनमा ल्याउन तयारी भइरहेको छ ।”

रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित हरमटारमा निर्माणाधीन चिस्यान केन्द्रको भवन सम्पन्न भएको पाइएको छ । फलफूल तथा अन्नबाली लगायतका कृषि उपज उत्पादनका लागि जिल्लाकै सबैभन्दा उर्वरभूमि मानिएको उक्त गाउँपालिकामा सोही गाउँपालिकाको रु ६२ लाख ९भ्याटसहित० लगानीमा चिस्यान केन्द्र भवन गरिएको हो ।

दसैँअघि ९असोज०मा निर्माण सम्पन्न भएको भवन गाउँपालिकालाई हस्तान्तरण गरिसकिएको निर्माण कम्पनी पिआर कन्स्ट्रक्सन प्रालिले जनाएको छ । गाउँपालिकाको केन्द्र हरमटारमा चिस्यान केन्द्रका लागि आवश्यक भवन निर्माणको काम सम्पन्न भइसकेकाले उपकरण खरिद गरेर जडान गरेपछि चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले जानकारी दिए ।

दश स्थानीय तह रहेको जिल्लामा शीतभण्डार केन्द्र सञ्चालन नहुँदा बाहिरी जिल्लाबाट आयात गरिएका फलफूल तथा तरकारी उपभोग गर्नुपर्ने बाध्यता छ । आफूले उत्पादन गरेका फलफूल तथा तरकारी चिस्यान केन्द्रमा भण्डारण गरेर बेमौसममा बिक्री गर्न सकिन्छ भन्ने ज्ञान किसानमा नहुनुले पनि समस्या भएको हो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्