nepal ahile circle final NEW

पत्रकार पौडेल र शाहीको सम्झनामा द्वीप प्रज्वलन, शोकलाई शक्तिमा बदल्न कानुनमन्त्री मगरको आह्वान

पत्रकार पौडेल र शाहीको सम्झनामा द्वीप प्रज्वलन, शोकलाई शक्तिमा बदल्न कानुनमन्त्री मगरको आह्वान

पोखरामा यती एयरको जहाज दुर्घटना हुँदा ज्यान गुमाएका सञ्चारकर्मीद्वय त्रिभुवन पौडेल र अनिल शाहीको १३ औं पुण्य तिथिमा आज द्वीप प्रज्वलन एवम् श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । सभामा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा मगरले शोकलाई शक्तिमा बदल्दै आगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ कास्की तथा गण्डकी प्रदेश समितिद्वारा दिवङ्गत पत्रकार त्रिभुवन पौडेल तथा सञ्चारकर्मी अनिल शाहीको १३ औ पुण्य तिथिमा आज आयोजित श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति दिएका हुन् । मन्त्री गाहामगरले दुर्घटनामा परि मृत्युभएका द्वय पत्रकारहरुको योगदानको उच्च मूल्याङ्कन गरि महासंघले उनीहरुको योगदानलाई जीवन्त राख्नेगरि रचनात्मक काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

‘लोकप्रिय पत्रकारहरु आज हामीमाझ नभएपनि उहाँहरुको लक्ष्य र योगदानलाई स्मरण गर्नैपर्छ’, मन्त्री गाहामगरले भने, ‘उहाँहरुको योगदानलाई जीवन्त राख्नको लागि यहाँहरुको महासंघले रचनात्मक काम गर्नु आवश्यक छ ।’ मन्त्री गाहामगरले मिडिया क्षेत्र आफ्नो कार्यक्षेत्र मै पर्ने बताउँदै आगामी दिनमा मन्त्रालयतर्फबाट मिल्ने सहयोग गर्ने पनि उल्लेख गरे ।

यसैगरी पत्रकार महासंघ गण्डकीका संस्थापक सल्लाहकार रविन्द्र बास्तोलाले यती एयरको जहाज दुर्घटनाले पोखराको मात्र नभई नेपालकै क्षति भएको बताए । बास्तोलाले पोखरेली पत्रकारद्वयको देहवसानले पत्रकारिता क्षेत्रमै ठुलो धक्का पुगेको धारणा व्यक्त गरेका थिए । श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सल्लाहकार निर्मला शर्मा, कास्की शाखाका कार्यसमिति सदस्य शिवराज बस्ताकोटीलगायतले शोक वक्तव्य व्यक्त गरेका गरेका थिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासंघ गण्डकीका सदस्य सुनिल पाण्डेले गरेका थिए । सो कार्यक्रममा विभिन्न संस्थामा प्रतिनिधि तथा पत्रकारहरुले १३ औँ पुण्य तिथिमा दिवङ्गत आत्माको चीर शान्तिको कामनासहित द्वीप प्रज्वलन गरेका थिए ।

दिवङ्गत त्रिभुवन पौडेल नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष, महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष र हाल महासंघका केन्द्रीय सदस्य थिए । यस्तै सञ्चारकर्मी अनिल शाही एपोस्टल एफएम सञ्चालन गर्दै आएका थिए ।

काठमाडौँबाट पोखरा आएको यती एयरको जहाज गत माघ १ गते सेती खोँचमा दुर्घटनाग्रस्त हुँदा चालकदलका ४ सदस्य र ६८ यात्रु गरि ७२ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्