nepal ahile circle final NEW

महत्व नबुझ्दा ओझेलमा टक्सारको सरस्वती गुफा

महत्व नबुझ्दा ओझेलमा टक्सारको सरस्वती गुफा

भोजपुर, १२ माघ । श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भिड बढिरहँदा सदरमुकाम नजिकै रहेको भोजपुर नगरपालिका–१२ टक्सारको सरस्वती गुफा भने आधुनिकतासँगै यसको महत्व नबुझ्दा ओझेलमा परेको छ ।

सदमुकामदेखि आघा घण्टाको दूरीमा रहेको टक्सारको सरस्वती गुफा अहिले आएको आधुनिक जीवनशैली र विकसित प्रविधिले ओझेलमा पर्दै गएको हो । सरस्वती गुफामा बसेर सात दाना अक्षता नचपाइ निल्दा बुद्धि बढ्ने विश्वास विगतमा रहे तापनि हाल यसको महत्व कम हुँदै गएको स्थानीय बुद्धिजीवीको भनाइ छ ।

विगतमा साना बालबालिकालाई अक्षर चिनाउनका लागि सरस्वती पूजाका दिन यही गुफामा लगिने गरिएको भए पनि अहिले भने सो परम्परालाई निरन्तरता दिन छाडिएको स्थानीय सानुकाजी शाक्यले बताए । उनले भने, “ढुङ्गाले बनेको गुफाको भित्र भागमा सरस्तीको पूर्ण आकृति भएको ढुङ्गासमेत रहेको छ, यही कारण पनि यो गुफाको महत्व देखिएको छ ।”

विसं १९९० को भूकम्पअघिसम्म भोजपुर सदरमुकाममा रहेको प्रसिद्ध सिद्धकाली मन्दिरमा रहेको शिवथानबाट भित्रभित्र हुँदै साँधुहरु टक्सारको सोही सरस्वती गुफाबाट बाहिर निस्कने गरेको भनाइ अहिले पनि टक्सारका बुढापाकाबाट सुन्न पाइन्छ ।

भूकम्पको धक्काले गुफा प्रवेशको मार्गमा अवरोध खडा भएपछि सहजरुपमा आवतजावत गर्न समस्या भएको बताइन्छ । बाटो सफा गरेर गुफा प्रवेशमा सहजता ल्याउने हो भने गुफाको महत्व बढ्नुका साथै गुफा धार्मिकस्थलका रुपमा विकसित हुने स्थानीय शिक्षक दीपेन्द्र श्रेष्ठ बताउँछन् । अहिले भने विद्यालयमा नै सरस्वती पूजा हुने गरेको र साना बालबालिकालाई पनि विद्यालयमा नै लगेर अक्षरारम्भ गराउने गरिएकाले यसको महत्व कम भएको शिक्षक श्रेष्ठको धारणा छ ।

सरस्वती गुफा धार्मिक पर्यटकीय हिसाबले पनि महत्व बोकेको स्थल भएकाले यसका लागि पर्यटन मन्त्रालयले पनि चासो देखाउनुपर्ने स्थानीयको माग छ । स्थानीय विमल रणपहेलीले भने, “यस्ता इतिहास बोकेका स्थानको संरक्षणमा पर्यटन मन्त्रालयले पनि ध्यान दिनुपर्छ, अहिलेका पर्यटनमन्त्री भोजपुरका भएकाले यसतर्फ उनको पनि ध्यान जान जरुरी छ ।” सो स्थानको भित्री भागमा सरस्वतीको पूर्ण आकृति भएको ढुङ्गा रहेकाले गर्दा गुफाको नाम सरस्वती गुफा रहन गएको किंवदन्ती रहेको पाइन्छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्