nepal ahile circle final NEW

पोखराको अटोवेज प्रालि व्यापार तर्फको उत्कृष्ट करदाता

पोखराको अटोवेज प्रालि व्यापार तर्फको उत्कृष्ट करदाता

पोखरा ०७, मंसिर  । एघारौँ राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ ।

कर दिवसको अवसरमा आयोजना भएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत बुधबार कार्यालयले व्यापार र सेवा तर्फका उत्कृष्ट करदाता तथा कर्मचारीलाई सम्मान गरेको हो ।

कार्यालयले व्यापार तर्फ उत्कृष्ट करदाताको रूपमा पोखराको अटोवेज प्रालिलाई सम्मान गरेको छ । विगत दुई दशकदेखि अटो मोबाइल क्षेत्रमा सक्रिय अटोवेज आर्थिक वर्ष २०७७/७८ मा व्यापार तर्फ सबैभन्दा बढी आयकर दाखिला गरेको हो ।

सेवा तर्फ उत्कृष्ट करदाताको रूपमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि सम्मानित भएको छ । कार्यालयले उत्कृष्ट कर्मचारीका रूपमा नायब सुब्बा छाया भट्टराईलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले कर प्रशासनलाई व्यवसायीमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत रमेश शर्माले कर प्रशासनलाई अझ मैत्रीपूर्ण बनाउँदै लगिने बताउनुभयो । प्रमुख कर अधिकृत शर्माले कर प्रशासन र करदाताबिचको सम्बन्धमा थप सुदृढ बनाउँदै करको दायरा बढाउने बताउनुभयो ।

सम्मानित हुने अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेल, कर्माचार्य बेक्सका कार्यकारी निर्देशक बिक्रम कर्माचार्य लगायतले व्यवसायीहरूले सहज रूपमा कर तिर्ने वातावरण तयार हुनुपर्ने र करको दर भन्दा दायरा फराकिलो पार्नुपर्ने बताउनुभएको थियो ।

स्वैच्छिक सहभागिता सहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार” भन्ने मूल नारा सहित यस वर्ष आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमको बुधबार समापन गरिएको छ ।

कार्यालयले कार्यक्रम अवधिभर पहिलो सेवा लिन आउने करदातालाई सम्मान गर्ने, कर शिक्षाका सामग्रीहरू ब्रोसर, पम्प्लेट वितरण गर्ने लगायतका कार्यक्रम गरेको कर अधिकृत शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख कोष नियन्त्रक रामजी प्रसाद शर्मा, प्रमुख मालपोत अधिकृत श्री राजेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्