nepal ahile circle final NEW

नवौँ राष्ट्रिय खेलकुद : कर्णालीमा भेट्ने सन्देशसहित पोखराबाट समापन

नवौँ राष्ट्रिय खेलकुद : कर्णालीमा भेट्ने सन्देशसहित पोखराबाट समापन

कास्की, ४ कार्तिक ।  गण्डकी प्रदेशको राजधानी सहर पोखरा केन्द्रित भएर आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद समग्रमा भव्य रह्यो । विगतमा दुई पटकसम्म मिति घोषणा भएर पनि रोकिएको राष्ट्रिय प्रतियोगिता पोखरा र गण्डकी प्रदेशका आठ जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्म उत्साहपूर्णरुपमा आयोजना भएको थियो ।

प्रतियोगिताले सहभागी खेलाडी, प्रशिक्षक र आयोजकमा उत्साह थप्यो भने चार दशकपछि पोखराले खेलकुदको कुम्भमेला आयोजनाको अवसरलाई राम्रैसँग सदुपयोग गरेको छ । प्रतियोगिताका ३६ वटै खेल तोकिएको समयमा, तोकिएकै स्थानमा सम्पन्न भए । खेलाडीहरुले लामो समयपछि आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर पाउनु र केही राष्ट्रिय कीर्तिमान बन्नुले राष्ट्रिय खेलकुद खेलाडीका लागि विशेष रह्यो ।

खेलाडीले खेल्न पाए, खेल क्षेत्र चलायमान बन्यो । प्रतियोगिताकै कारण पोखरा बाहिर पनि केही खेल पूर्वाधार थपिए । पोखराले प्रवद्र्धनको राम्रो मौका पायो । नवौँको तयारीका लागि देशभर भएका छनोट प्रतियोगिताहरुले लामो समय सुनसान बनेको खेल क्षेत्रलाई चलायमान समेत बनायो ।

ठूला चाडपर्वको मुखमा छोटो तयारीमा पनि पोखराले भव्य प्रतियोगिता आयोजना गरेर सम्पूर्ण देशलाई नै सकारात्मक सन्देश दिन सफल भयो । सरकारले गत जेठ दोस्रो साता मिति घोषणा गरे पनि बर्खायाम लगायतले तयारीका लागि लामो समय थिएन । यसबीचमा ठूलो चाड दसैँ आयो र दसैँको लामो झरीले पनि चुनौती थपेका प्रतियोगिता सुरुपछिका दिनमा मौसमले पनि साथ दिएकाले आयोजना सफल भयो । छ हजारभन्दा बढी खेलाडी र अफिसियल, खेल पदाधिकारी तथा प्रशिक्षक, रेफ्री र खेलाडीका अभिभावकसमेत गरी १० हजारभन्दा बढीको जमघट पोखरामा भयो पर्यटकीय सहरमा आयोजनाको खेलकुदको कुम्भ मेलाले पोखराको पर्यटकीय प्रवद्र्धनसहित यहाँको अर्थतन्त्र चलायमान बनाउन मद्दत पुगेको छ भने आर्थिक गतिविधि यसबाट वृद्धि भएका छन् । यससँगै राष्ट्रिय खेलकुद आयोजनाका केही तीता अनुभव पनि रहेका छन् ।

राष्ट्रको गौरवसँग जोडिएको प्रतियोगितामा समस्या, अभाव र अव्यवस्था पनि देखियो । प्रतियोगिताकै क्रममा खेल्दै गर्दा एक जना पोखरेली प्याराग्लाइडिङ खेलाडी निसिम थापाको दुर्घटनामा परी भएको मृत्युले सबैमा पीडा पनि दियो । खेलाडीले समयमै खेल सामग्री पाएनन् । खेल सुरु हुँदासम्म मैदानको स्तरोन्नति बाँकी नै रह्यो । खेल सामग्रीको गुणस्तरमा प्रश्न उठे । सङ्घीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय खेलकुदमा सङ्घ र प्रदेशबीच समन्वयको अभावले गर्दा अझ राम्रो गर्न सकिने सम्भावना रहेपनि त्यसो हुन सकेन ।

सङ्घीयताको मर्मभन्दा बाहिर गएर राष्ट्रिय खेलकुद आयोजनामा सङ्घ हाबी भएको, सङ्घकै खटनपटन चलेका जस्ता गुनासाहरु पनि यस बीचमा बग्रेल्ती रहेपनि समग्रमा राष्ट्रिय खेलकुदले आफ्नो लक्ष्य हासिल गरेको छ । राष्ट्रिय खेलकुद समग्रतामा आफ्नो उद्देश्य हासिल गर्न सफल भयो, आगामी दिनमा यस प्रतियोगिताले निरन्तरता पाउँछ भन्ने सकारात्मक सन्देश पोखराबाट प्रवाह भएको छ ।

पोखराबाट दशौँ राष्ट्रिय खेलकुद मिति घोषणा भइसकेको छ । आगामी विसं २०८१ मङ्सिर २ देिख ९ गतेसम्म कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद गर्ने घोषणा गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले कणालीका सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीलाई दशौँको झण्डा हस्तान्तरण गरेपछि प्रतियोगिताकोे निरन्तरताको सन्देश पोखराले दिएको छ ।

पोखराका पूर्वअग्रज खेलाडी एवं हरिप्रसाद पराजुली समग्रमा नवौँ राष्ट्रिय खेलकुद भव्य बनेको बताउनुहुन्छ । नवौँका लागि भनेर पोखरामा बन्नुपर्ने केही खेल पूर्वाधार निर्माण नभए पनि प्रतियोगिता आयोजना भएर खेल सञ्चालन हुनु र यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनु सकारात्मक भएको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “नवौँ राष्ट्रिय खेलकुदले छोटो समयमा पनि चहलपहल ल्यायो, वित्तिय स्रोत परिचालन भयो र यहाँको आर्थिक अवस्थालाई राम्रो बनाउन सहयोग पुगेको । अन्य जिल्लाहरुले अपनत्व लिएका छन्, विगतमा रोकिए पनि अव निरन्तर हुन्छ भन्ने सकारात्मक पाटो यसले दिएको छ ।”

पूर्वाधार निर्माणमा भने पोखरा र गण्डकी प्रदेशले गर्व गर्ने ठाउँ नरहेको भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्षसमेत रहनुभएका पराजुली बताउनुहुन्छ । विसं २०४० मा निर्माण पूर्वाधारले नवौँ सम्पन्न भएको छ ।

राष्ट्रियका लागि भनेर पौडी पोखरी, सुटिङ रेञ्ज निर्माण लगायतका पूर्वाधार बनाउने योजना रहेपनि यसबीचमा बनेनन् । “पोखरामा खेल पूर्वाधार त्यसमा थपिनुपर्ने थियो, केहीको अपग्रेट हुनुपर्नेमा भएन । नवौँ खेलकुदको निहुँमा थप केही भएन । खेलाउनका लागि केही व्यवस्था गर्ने काम मात्र भयो, नवौँका माध्यमबाट पूर्वाधार बनेन्”, पराजुलीले भन्नुभयो ।

अग्रज खेलाडी पराजुली दशौँको मिति घोषणा भइसकेकाले राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद्ले आजैदेखि दशौँका लागि योजना बनाउनुपर्ने आवश्यकता ठान्नुहुन्छ । जहिले पनि अन्तिम समयमा आएर मात्र तयारीका काम गर्दा कमजोरी रहने भएकाले आआफ्नो जिम्मेवारीको काम सम्बन्धित निकायले थालनी गर्नुपर्ने उहाँको भनाइ छ ।

पहिलादेखि नै पूर्वाधारको व्यवस्था, खेलाडीलाई तालिम, प्रशिक्षक र अभ्यासको निरन्तरता तथा प्रतियोगिताहरु निरन्तर हुँदा मात्र राष्ट्रिय खेलकुद भव्य हन्छ । पराजुलीले भन्नुभयो, “पोखराले दिएको सन्देश दशौँको तयारी अहिलेदेखि नै सुरु गर भन्ने हो । सम्बन्धित खेल सङ्घले पनि आफ्नो खेलको राष्ट्रिय प्रतियोगिता गराउनुपर्दछ । यसले मात्र राष्ट्रिय खेलकुदको रौनक आउँछ ।”
गण्डकी प्रदेशमा नियमित भएको भए डेढ वर्षअघि नै राष्ट्रिय खेलकुद सम्पन्न हुनुपर्ने थियो । सरकारले २०७७ सालको फागुन अन्तिम साताका लागि मिति घोषणा गरे पनि कोरोना महामारीका कारण प्रतियोगिता तोकिएको मितिमा हुन सकेन । त्यसपछि गत जेठमा पुनः प्रतियोगिताको मिति घोषणा भएपनि स्थानीय तहको निर्वाचनको तयारीले राष्ट्रिय खेलकुदका लागि तयारी पुगेन र मिति सार्नु प¥यो ।

प्रदेश खेलकुद परिषद् गण्डकीका निर्वतमान सदस्य सचिव तेजबहादुर गुरुङले कोभिडको महामारीले सुस्ताएको खेल क्षेत्रलाई राष्ट्रिय खेलकुद प्रतियोगिताले चलायमान बनाएको बताउनुभयो । प्रतियोगितामा केही राम्रा रेकर्ड कायम हुनु र यहाँको पर्यटनका लागि समेत राष्ट्रिय खेलकुदले सकारात्मक सन्देश दिएको उहाँ बताउनुहुन्छ ।

प्रतियोगितालाई अझै राम्रो गर्नसक्ने अवस्था रहे पनि पनि समन्वयमा भने कमी देखिएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चुनौतीका बीचमा पनि राष्ट्रिय खेलकुद सफल भयो । केही राम्रा रकेर्ड बन्नु सकारात्मक पक्ष हो ।”

निर्वतमान सदस्य–सचिव गुरुङको अनुभवमा प्रतियोगिता व्यवस्थापनमा निकै कमजोरी देखियो । त्यसैगरी प्रदेशलाई व्यवस्थापकीय कुराहरुमा प्रत्यक्ष सङ्लग्न हुनबाट बञ्चित गरिएकाले पनि अझै राम्रो गर्ने ठाउँ हुँदाहुँदै पनि हुन सकेन । उहाँले भन्नुभयो,“खेल सामग्री, खेलभित्रको प्राविधिक कुरादेखि खेल मैदान तयारीमा धेरै समस्याहरु निस्किए ।”

विभिन्न खेल विधामा कीर्तिमान

पोखरामा सञ्चालन भएको राष्ट्रिय खेलकुदमा कीर्तिमानको ओइरो नै लाग्यो । खेलाडीहरुले खुलेर आफ्नो खेल कौसल प्रदर्शन गरेपछि नयाँ नयाँ कीतिमान कायम भए । लामो समय आफ्नो प्रतिभा देखाउन नपाएका खेलाडीले एथलेटिक्स, टेनिस, पौडी, भारोत्तोलन लगायतका खेल विधामा राष्ट्रिय रेकर्ड कायम गर्न सफल भए ।

प्रतियोगितामा एथलेटिक्सतर्फ नेपाली सेनाका जयरानी थारुले पाँच स्वर्ण पदक जित्न सफल हुनुभयो । एथलेटिक्सको पाँच प्रतिस्पर्धामा सहभागी उहाँले तीनवटा राष्ट्रिय कीर्तिमानसहित पाँचवटैमा स्वर्ण जित्नुभयो ।

त्यसैगरी टेनिसमा नेपालको पहिलो वरियताका खेलाडीसमेत रहनुभएका अभिलाषा विष्टले सर्वाधिक चार स्वर्ण जितेर राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । सेनाबाट खेल्नुभएका अभिलाषाले टेनिसको ‘महिला एकल’, ‘महिला युगल’, ‘मिक्स डबल्स’ र ‘टिम इभेन्ट’मा गरी चार स्वर्ण पदक जित्नुभयो । उहाँ टेनिसमा एकै व्यक्तिले चार स्वर्ण जित्ने पहिलो कीर्तिमानसमेत बनाउनुभएको हो ।
यसैगरी नेपाल प्रहरीका तारादेवी पुनले नवौँ राष्ट्रिय खेलकुदको भारोत्तोलनमा तीन राष्ट्रिय कीर्तिमान बनाउनुभयो ।

उहाँले महिला ८१ केजी तौल समूहमा ‘स्न्याच’ र ‘क्लिन एण्ड जर्क’मा गरी तीन वटा राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । सेनाका एथलेटिक्स खेलाडी सोमबहादु कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाउनुभयो । उहाँले ३२ वर्ष पुरानो कीर्तिमान तोड्दै आफ्नो पक्षमा रेकर्ड राख्नुभयो ।

राष्ट्रिय खेलकुदको एथलेटिक्सअन्तर्गत महिला एक मिटर दौडमा पनि यसपटक राष्ट्रिय कीर्तिमान कायम भएको छ । सेनाका सरस्वतीले चौधरीले पुरानो रकर्ड भङ्ग गर्दै आफ्नो नाममा रेकर्ड राख्न सफल हुनुभयो ।

यसैगरी नेपाल प्रहरीका चन्द्रकला लामगाडेले ज्याभलिनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्नुभयो । उहाँले यसअघि शटपुटमा पनि स्वर्ण जितेकी जित्नुभएकामा ज्याभलिनमा कीर्तिमान बनाउनुभएको हो । त्यस्तै चार सय मिटर महिला दौडमा एपिएफका रमिताकुमारी थारुले राष्ट्रिय कीर्तिमान बनाउनुभयो । उहाँले कीर्तिमानसहित स्वर्ण पदक जित्नुभएको हो । भारोत्तोलनको ८१ किलो तौल समूहमा पुलिसका विकास थापाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक आफ्नो नाममा लेखाउनुभयो । उहाँले ‘क्लिन एण्ड जर्क’मा १३९ किलो तौल उठाएर राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो ।

आर्मीको च्याम्पियनमा ह्याट्रिक

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक एक सय ७२ स्वर्ण पदक जितेर च्याम्पियन बन्यो । आर्मी लगातार तीन संस्करणमा च्याम्पियन बनेको हो । यसअघि सातौँ र आठौँ राट्रिय खेलकुदमा च्याम्पियन बनेको आर्मीले ह्याट्रिक पूरा गरेको छ । प्रतियोगितामा सेनाले स्वर्ण एक सय ७२, रजत एक सय १० र ८९ कास्य गरी तीन सय ७१ पदक जितेर च्याम्पियन बनेको हो ।

पहिलोपटक राष्ट्रिय खेलकुदको विजेतालाई सुन र चाँदी समावेश गरेर बनाइएको ट्रफी प्रदान गरिएको हो । यसैगरी सशस्त्र प्रहरीको एपिएफले ६५ स्वर्ण ७२ रजत र ८२ कास्यसहित दुई १९ पदक जितेर द्वितीय भएको छ ।

नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ कास्य र ७३ रजतसहित कूल एक सय ९५ पदक जितेको छ । घरेलु मैदानको सदुपयोग गर्दै आयोजक गण्डकी प्रदेश चौथो तथा प्रदेशमध्ये पहिलो हुन सफल भयो । गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्यसहित एक सय २० पदकसहित समग्रमा चौथो भएको छ । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्यपदकसहित एक सय ४५ पदकसहित पाँचौँ स्थानमा रहन सफल भयो ।

प्रदेश नं १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदक सहित छैटौं भएको छ । सुदुरपश्चिम प्रदेश १० स्वर्ण, १० रजत ४३ कास्य सदक सहित ६३ पदक जित्न सफल भयो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले १० स्वर्ण नौ रजत र सात कास्य गरी कूल २६ पदक जित्दा लुम्बिनी प्रदेशले छ स्वर्ण, २२ रजत र ४० कास्य गरी ६८ पदक जितेको छ । यस्तै मधेश प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ कास्य गरी ३९ पदक जित्दा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कास्यसहित १८ पदक जितेको छ

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्