nepal ahile circle final NEW

ओलीले गरेजस्तो गुपचुप एकता हुँदैन, अबको ५ वर्ष गठबन्धन कै सरकार बन्छ: उपमहासचिव खतिवडा

ओलीले गरेजस्तो गुपचुप एकता हुँदैन, अबको ५ वर्ष गठबन्धन कै सरकार बन्छ: उपमहासचिव खतिवडा

पोखरा, ११ भदौ  । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अव पार्टीहरू बीचमा हुने एकता विगतमा गरिएजस्तो गुपचुप नहुने बताउनुभएको छ ।

पोखरामा आज समाजवादी प्रेस संगठन, कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा  खतिवडाले एकता प्रक्रिया विगतकै अभ्यास बमोजिम गर्न लागिएको भएता पनि पहिले केपी ओलीले गरेजस्तो गुपचुप वाला एकता नहुने बताउनुभयो ।

‘अहिले पहिले केपी ओलीले गरेजस्तो गुपचुप एकता हुँदैन । लुकिछिपी सत्ता साझेदारी गर्न, चुनाव जित्न, प्रधानमन्त्री पदमा सौदावाजी, आलोपालोका लागि हिजोको एकता प्रक्रिया थियो । तर, अबको एकता विचार र सङ्गठनात्मक एकता भएकाले हिजो र आजको फरक छ’, पार्टीको प्रवक्ता समेत रहनुभएका खतिवडाले भन्नुभयो । कार्यकर्ता र जनताको बीचमा खुल्ला बहस, छलफल, विचार विमर्श गरेर, उनीहरूको चासो सुनेपछि मात्रै एकीकरणको दिशा सही ढङ्गले अघि बढ्ने उहाँको भनाइ छ ।

एकीकृत समाजवादी र माओवादी केन्द्र बिच पार्टी एकताकै लागि एउटै घोषणापत्र लिएर चुनावमा जाने निर्णय भएको उल्लेख गर्दै उहाँले एक दुई दिनमै एकता संयोजन समिति घोषणा हुने सङ्केत गर्नुभयो ।

हाम्रो पार्टीको नामलाई नै पुष्टि गर्न एकीकृत अभियानको थालनी गरेका हौँ । हामी पार्टी एकताको प्रक्रियामा छौँ । हामी एकता गर्दैछौं । सौहार्दता वृद्धि र एजेण्डाहरु एकीकृत गर्नका लागि एउटै घोषणापत्र बनायौँ । अहिले चाहिँ आफ्नै चुनाव चिन्हमा चुनाव लड्छौँ ।’ उहाँले भन्नुभयो– ‘एकता संयोजन बनाउने गरी टीम बनाएका छौँ । सम्भवतः आजभोलि एक दुई दिनमै एकता संयोजन समितिको घोषणा पनि हुनसक्छ । केही बुँदे ड्राफ्ट आउला ।’

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको स्थापना, पुनर्गठनको उद्देश्य र पहिलो राजनीतिक प्रस्ताव नै देशका सबै वामपन्थीलाई एकताबद्ध गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्नु रहेको बताउँदै उहाँले एकता गर्ने उद्देश्यले थालनी गरिएको प्रक्रिया सफल हुन्छ या हुँदैन भन्ने कुरा अर्को पक्षमा भर पर्ने बताउनुभयो ।‘

गठबन्धनमा सिट बाँडफाँड बारे  ५/१० दिनमै सहमति, कार्यदलमा सहमति नभए शीर्ष नेताले टुङ्ग्याउने

खतिवडाले गठबन्धन भित्र सिट बाँडफाँड बारे ५/१० दिनमै सहमति हुन सक्ने बताउनुभयो । अव आफूहरूमाझ थोरै समय भएको उल्लेख गर्दै उहाँले कार्यदलमा  सहमति हुने र त्यो सम्भव नभए शीर्ष नेता बसेर टुङ्ग्याउने जानकारी दिनुभयो । ‘‘कार्यदलको धेरै काम सकिएको छ । अब मुख्य कुरा सिट सङ्ख्या बाँडफाँड हो । कार्यदलले नसके शीर्ष दलले टुङ्गो लगाउनेछन् । त्यसपछि निर्वाचन क्षेत्रको टुङ्गो लगाउनेछौँ’, खतिवडाले भन्नुभयो ।

उहाँले चुनाव गठबन्धनबाटै लड्ने बताउँदै अबको ५ वर्ष गठबन्धनकै सरकार बन्ने दाबी समेत गर्नुभयो । ‘सहकार्यमा बहुमतको सरकार बन्छ । एकल पार्टीको बहुमतीय सरकार पनि बनाएका नै हौँ । चलेन ।’

खतिवडाले पार्टी पुनर्गठन गर्दागर्दै समाजवादी राष्ट्रिय पार्टीको रूपमा उदाएको र स्थानीय चुनावको मत हिसाब गर्दा ९ लाख बढी मत प्राप्त गरेको बताउनुभयो ।

नागरिकता विधेयकका सम्बन्धमा राखिएको जिज्ञासामा उहाँले राष्ट्रपति संविधान अनुसार नै चल्नुपर्ने बताउनुभयो । ‘संवैधानिक हिसाबले राष्ट्रपतिले विधेयका सवालमा सुझाव लिने दिने जे गर्नुभएको छ । संवैधानिक प्रावधान अनुसार नै गर्नुभएको छ । अन्यथा टिप्पणी छैन । अब पनि संवैधानिक व्यवस्था अनुसार नै गर्नुहुन्छ भन्ने छ’, खतिवडाले भन्नुभयो । यद्यपि हल्ला भएजस्तो राष्ट्रपतिले राजनीतिक उद्देश्यका साथ सक्रियता बढाउने र चासो राख्ने काम भने गर्न नहुने उहाँको तर्क छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्