nepal ahile circle final NEW

पोखरा महानगरका करार कर्मचारीको म्याद अन्तिमपटक ६ महिनालाई थप

पोखरा महानगरका करार कर्मचारीको म्याद अन्तिमपटक ६ महिनालाई थप

पोखरा, २४ साउन । पोखरा महानगरपालिकाले करार कर्मचारीको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यपालिकाको पाँचौ बैठकले करार कर्मचारीको म्याद अन्तिमपटक ६ महिनालाई थप गर्ने निर्णय गरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अख्तियारमा परेको उजुरीका आधारमा स्थानीय तहलाई आवश्यक दरबन्दी लोकसेवा आयोग नपठाई करार कर्मचारीको म्याद नथप्न दिएको निर्देशनलाई कार्यान्वयनमा लैजाने तयारी स्वरूप यस्तो निर्णय गरिएको भारतीले बताउनुभयो ।

‘महानगरमा लामो समयदेखि ठूलो मात्रामा करारमा कर्मचारीको रहेको अवस्था छ । हाल अख्तियारको परिपत्र अनुसार सामान्य प्रशासन मन्त्रालयबाट समेत लोकसेवामा नपठाई करार कर्मचारीको म्याद नथप्नु भन्ने निर्देशन भएको हुँदा त्यसको उचित हल गर्न अन्तिमपटकलाई ६ महिना म्याद थप गरेका हौँ’, भारतीले भन्नुभयो।

लोकसेवाबाट स्थायी परिपूर्ति भएर नआउने खालका ड्राइभर, कार्यालय सहयोगी लगायतका करारका कर्मचारीहरू महानगरमा अत्याधिक रहेको जानकारी गराउँदै उहाँले ६ महिनापछि  आवश्यक बाहेकका श्रेणिविहीन कर्मचारीलाई करारमा नराखिने बताउनुभयो ।

महानगरलाई आवश्यक त्यस्तो जनशक्तिको विषयमा सुशासन समितिलाई अध्ययन गरी दुई महिना भित्रमा प्रतिवेदन पेस गर्न भनिएको र सोही प्रतिवेदनका आधारमा आगामी पुसमा बस्ने नगर सभाले पदपूर्ति गर्ने उहाँले जानकारी दिनुभयो ।

कानुनअनुसार महानगरमा राख्न मिल्ने आवश्यक दरबन्दीको लागि भदौ १५ गते भित्रमा लोकसेवा आयोगमा लेखि पठाउने निर्णय भएको उहाँले बताउनुभयो। महानगरमा लामो समयदेखि काम गर्दै आएका करार कर्मचारीको हकमा भने आवश्यक इन्सेन्टिभका साथ स्वैच्छिक अवकाशको अवसर दिइने उहाँले बताउनुभयो ।

‘कानुनसम्मत लोक सेवाबाट जुन जुन पद श्रेणी र तहमा पदपूर्ति हुने हो त्यसका लागि भदौ १५ सम्म लेखि पठाउने निर्णय भएको छ । महानगरमा २५-३० वर्षदेखि काम गर्दै आएका करारका कर्मचारीहरू समेत रहेको हुँदा उहाँहरूलाई निवेदन दिएर स्वैच्छिक अवकाशको अवसर दिने निर्णय भएको छ ।  त्यसको कार्यान्वयन बजेटमा व्यवस्था भएको कोष मार्फत कार्यविधि बनाई गर्ने निर्णय भएको छ । र, महानगरका वडा वडादेखि स्वास्थ्य र अन्य तर्फ के कति कर्मचारी चाहिने हो त्यसको लागि आवश्यक अध्ययन गरी प्रतिवेदन तयार पार्न सुशासन समितिलाई जिम्मा दिने निर्णय भएको छ’ भारतीले भन्नुभयो ।

पुसमा नगर सभा बस्ने हुँदा सो अवधिसम्म लोकसेवाबाट स्थायी परिपूर्ति भएर नआउने तर आवश्यक रहेका कर्मचारीहरूको हकमा छलफल हुने र समितिको प्रतिबेदनका आधारमा  नगर सभामा प्रस्ताव लगि सभाको निर्णय अनुसार गरिने उहाँले बताउनुभयो ।

पोखरा महानगरमा हाल स्वास्थ्यतर्फ १०९ र अन्यतर्फ २५० जना कर्मचारी करारमा रहेका छन्  । कुल  ३५९ जना करार कर्मचारीको तलब, भत्तामा मात्र महानगरको वार्षिक १९ करोड रकम खर्च हुन्छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्