गठबन्धनमा के सहमति भयो भनेर कुरेर नबस्नुस् : अध्यक्ष नेपाल

  • नेपाल अहिले
  • श्रावण २१, २०७९
गठबन्धनमा के सहमति भयो भनेर कुरेर नबस्नुस् : अध्यक्ष नेपाल

|तस्बिर : सुदर्शन रञ्जित

पोखरा, २१ साउन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनको सहमति कुरेर नबस्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

समाजवादी प्रेस संगठन नेपाल, कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले परि आयो भने एक्लै चुनाव लड्न पर्ने भन्दै नेता/कार्यकर्तालाई गठबन्धनको सहमति मात्र कुरेर नबस्न आग्रह गर्नुभएको हो ।

‘….पर्‍यो भने एक्लै चुनाव लड्न पनि तयार हुनुस् , गठबन्धनमा के सहमति भयो भनेर कुरेर नबस्नुस् । संगठन बनाउनुस् ,संगठनलाई गतिशील बनाउनुस्, पार्टीको चुनाव चिन्हको प्रचार प्रसार गर्नुहोस्’, अध्यक्ष नेपालले भन्नुभयो ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिक तर्फ कलम चिन्हमा भोट माग्नै पर्ने भएकाले पनि पार्टीले आ-आफ्नो क्षेत्रमा  समयमै तयारी पुरा गरी प्रचारप्रसारमा लाग्नुपर्ने उहाँको भनाइ छ । गठबन्धन भए तापनि समानुपातिकमा आ-आफ्नै पार्टीको चुनाव चिन्हमा भोट हाल्ने भएकाले सोहीअनुसार अघि बढ्नुपर्ने उहाँको तर्क थियो ।

‘यसै पनि पार्टीको चिन्ह कलम चिन्हमा समानुपातिकमा भोट त हाल्नै पर्छ । सबै ठाउँमा गठबन्धन भनेर सम्भव छैन । प्रतिनिधिसभाको समानुपातिकमा पनि त्यो मत प्राप्त हुँदैन ,प्रदेश सभाको समानुपातिकमा पनि प्राप्त हुँदैन’, उहाँले भन्नुभयो ।

समाजवादी पार्टी प्रति जनतामा देशैभर उत्साह बढेको र अन्य पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरू प्रवेश गर्ने लहर नै चलेको भन्दै अध्यक्ष नेपालले आउने निर्वाचनले पार्टीलाई देशैभर राम्रोसँग स्थापित गर्ने समेत बताउनुभयो ।

गत स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनावमा जाँदा पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकामा प्रमुख पदमा जित्न सफल भए पनि मत बदर भएर धेरै ठाउँमा हार बेहोर्नुपरेको उहाँले बताउनुभयो । गठबन्धन गर्ने र इमानदारिता देखाउने विषयमा आफ्ना कार्यकर्ताहरू सोझो देखिएता पनि धेरै ठाउँमा काँग्रेसले पेलेर जान खोजेकोले आफूहरू झस्किएको उहाँको भनाइ छ । गठबन्धन गर्ने विषयमा काँग्रेसका नेताहरू मिले पनि कार्यकर्ताहरूले इमानदारिता नदेखाउने गरेको उहाँको आरोप छ ।

स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख पदमा गठबन्धन गरेर चुनाव लडे पनि वडा तहमा काँग्रेसको पेलेर जाने नीतिका कारण मिल्न नसकेको उहाँको भनाइ थियो । जसले गर्दा आउँदो निर्वाचनको विषयलाई लिएर आफूहरू झस्किएको उहाँले बताउनुभयो ।

यद्यपि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन पनि गठबन्धनका दलहरू मिलेर नै लड्ने उहाँको भनाइ थियो । तर त्यसका लागि सिट बाँडफाँट भने सम्मानजनक हुनुपर्ने उहाँको तर्क थियो । उहाँले आफू प्रत्यक्ष चुनाव लड्ने बताउँदै रौतहट वा काठमाण्डौ कहाँ बाट लड्ने भन्ने बारे चाही खुलाउनुभएन ।

नेकपा एमालेसँगको एकता र बाम तालमेलको सम्भावनाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले केपी ओलीले आफूलाई राष्ट्रवादी घोषित गर्दै ५ जना नेतालाई देशद्रोही घोषण गरेकोले एमालेसँगको एकता तत्काल असम्भव भएको बताउनुभयो । उहाँले एमालेमा भविष्य नरहेको भन्दै एमालेको भ्रममा भएका नेता कार्यकर्ताहरूलाई एकीकृत समाजवादीमा आउन आग्रह गर्नुभयो ।

फरक प्रसङ्गमा नेकपा एमाले कुनै पनि बुँदा संशोधन नगरी एमसीसी पास गर्ने तयारीमा भए पनि सैन्य गतिविधि लगायतका देशको हितमा नरहेका बुँदा सच्चाएर व्याख्यात्मक टिप्पणीको सहमति गरेर मात्र आफूहरू एमसीसी पारित गर्न सहमत भएको बताउनुभयो ।

नागरिकता विधेयकको सन्दर्भमा आफूहरू बिहे गर्ने बित्तिकै विदेशी महिलालाई नागरिकता दिने विषयमा आफूहरू सहमत नरहेको उहाँको भनाइ थियो । छिमेकी मुलुक भारतमा पनि बिहे गरेको सात वर्षपछि मात्र नागरिकता दिने प्रावधान रहेको बताउँदै उहाँले आफूहरूले सो कुरा उठाएको बताउनुभयो ।

© 2025 All Rights Reserved | Nepal Ahile Media