nepal ahile circle final NEW

तीन अद्भुत वचन

तीन अद्भुत वचन

दीपक पराजुली । सिद्धार्थलाई मैले आफ्नो आध्यात्मिक विचलनका दिनमा पढेको हुँ । त्यस्तो विचलनअघिको समयमा म उग्र आध्यात्मिक भड्कावबाट ग्रसित थिएँ । सात वर्षदेखि म एउटा आध्यात्मिक म्याराथनमा दौडिरहेको थिएँ । त्यसमा अचानक उथलपुथल आयो र त्यसले मेरो आध्यात्मिक मनोदशालाई गम्भीर रूपमा विचलित बनाइ दिएको थियो । विचलनको आँखा सद्दे भए पनि दृष्टी कमजोर हुन्छ । त्यसप्रकारको विचलनलाई पार लगाउने विकल्पको खोजीमा म लागिपरेको थिएँ । हुनसक्छ कुनै मार्ग भेटिएला वा कुनै सूत्र सुझ्ला ।

एक दिन पुस्तक पसलमा झुण्डाएर राखिएको सिद्धार्थमाथि मेरो आँखा पर्‍यो । पुस्तकको आवरणमा अर्द्धमुदित नयनमा बुद्ध ध्यानस्त थिए । म भने ध्यानभंगको स्थितिमा थिएँ । त्यस बखत मैले यो सिद्धार्थ गौतमको जीवनमा आधारित बुद्ध वाणीहरूले भरिएको कुनै कथानक किताब हो भन्ठानेको थिएँ । तर पुस्तकको प्रारम्भीक वाक्यले नै सिद्धार्थ शुद्धोधनको पुत्र नभएर कुनै ब्राह्मणको पुत्र भएको जानकारी दियो ।

पहिलोपटक सिद्धार्थ पढेपछि र आजपर्यन्त एउटा प्रश्न म आफैँलाई गरिरहेको हुन्छु । त्यो हर्मन हेस्सेले सिद्धार्थ कसरी लेख्न सक्यो होला है रु उसको जरा पश्चिममा थियो । ऊ लहरा फैलाएर पूर्वमा आयो । पूर्वीय अध्यात्म दर्शन र ज्ञान–परम्पराको गहिराइलाई उसले कुन हदसम्म नापेको रहेछ भन्ने कुरा सिद्धार्थ उपन्यास पढेपछि ज्ञात भई नै हाल्छ ।

यतै पूर्वकै रचनाकारले लेखेको भए सिद्धार्थमा प्रकट अभिव्यक्तिप्रति आश्चर्य जाहेर गर्नु पर्ने कुनै कारण मैले खोज्ने थिइनँ तर पश्चिमको हर्मन हेस्सेले त्यो तीन अद्भुत वचन कसरी लेख्न सक्यो भन्ने कुरामा म सधैँ घोत्लिने गर्दछु । यो कुराले मलाई चिन्तनको महासागरमा लगेर डुबाउँछ ।

हुन त सिद्धार्थका बारेमा धेरैले धेरै थरी कुरा(समीक्षा) लेखिसकेका छन् । तर म यहाँ यो उपन्यासको समग्र समीक्षा गर्न नभई त्यही तीन वचनमा मात्रै केन्द्रित हुनेछु । जो यो आलेखको सीमा हो भनेर जान्दा हुन्छ ।

खैर, त्यो तीन वचन सबैलाई अद्भुत लाग्नै पर्छ भन्ने कुनै दरकार छैन । मलाई त्यस्तो लाग्यो । यो मेरो त्यस्तो नितान्त व्यक्तिगत अनुभूति हो जसमा मेरा वैयक्तिक आध्यात्मिक अनुभवका तत्त्वहरूले काम गरेका छन् । त्यो तीन वचन उपन्यासको मूल पात्र सिद्धार्थले भन्दैन । सिद्धार्थको पिताले भन्छ । सिद्धार्थको लागि भन्छ ।

सिद्धार्थ ज्ञानको खाजीमा घर छाडेर जान चाहन्छ । ऊ सन्न्यासी जीवनको प्रारम्भ गर्न चाहन्छ । त्यसको लागि उसले आफ्नो पितासँग आज्ञा माग्दछ । सुरुमा पिताले आज्ञा दिन इन्कार गर्दछन् । सिद्धार्थ हठ गर्छ । ऊ आफ्नो अडानमा टसको मस हुँदैन । उसको हठ अगाडि पिता गल्छन् र सिद्धार्थको उत्कठ अभिलाषालाई अनुमोदन गर्न बाध्य हुन्छन् । सोही सन्दर्भमा सिद्धार्थका पिताले व्यक्त गरेको भनाई जसलाई आधार मानेर तथ्यसंगत रूपमा मैले तीन वटा छुट्टा छुट्टै वचनमा विभाजन गरेको छु । एकछिन ती वचनहरूमाथि विमर्श गरौँ ।

वचन नं। १– ‘हुन्छ त नि, तँ जा, जंगलमा गएर सन्न्यासी भई १’
पिताले अस्वीकार गर्न सकेनन् र कुरा यही वचन नं।१ मै टुङ्गिन सक्थ्यो । पिता सकेसम्म सिद्धार्थले घर छोडेर नजाओस् नै भन्ने चाहन्थे । सुरुमा पिताले सिद्धार्थको प्रस्तावलाई ठाडै अस्वीकार गरेको कुरा सत्य हो । तर सिद्धार्थले हठभन्दा पनि बढेर महाहठ गर्‍यो । अन्ततः पुत्रको महाहठका सामु उनी गल्नु नै पर्‍यो र गले पनि । सायद पिताभित्र पितृत्वको अहम् जो हुन्छ त्यसमा ठूलो चोट पनि पर्‍यो होला । भएको एक्लो सन्तानले घर त्यागेर जाने कुरालाई सहज र सहर्ष स्वीकार गर्ने स्थिति थिएन । पुत्रको महाहठका सामू लाचार हुन पुगेका पिताले आवेशाग्रही भएर ‘लौ जहाँसुकै जाने हो जा, मर १’ भन्न सक्थे होलान् तर भनेनन् । र उनले अर्को वचन थपे,

वचन नं। २– ‘यदि तैँले त्यहाँ ज्ञान प्राप्त गरिस् भने घरमा आएर मलाई पनि सिकाएस् १’
यहाँनेर दुई महत्त्वपूर्ण तथ्य प्रकट भएको छ । पहिलो, सिद्धार्थले ज्ञान प्राप्त गर्न सक्ने सम्भावनालाई पिताले संकेत गरेका छन् । पुत्रको चेष्टाका सन्दर्भमा उनीभित्र कुनै आशै नभएको भने होइन । यसलाई उनी अर्को ढङ्गबाट पनि व्यक्त गर्न सक्थे । कुरा साधारण थियो, सिद्धार्थ ज्ञान प्राप्तिको खातिर घरबाट जाँदै थियो, त्यसैले ‘पुत्र, तँलाई तेरो लक्ष प्राप्त होस् १’ भनेर कामनायुक्त आशिष् दिन सक्थे । त्यसप्रकारको आशिष् दिनु एक असल पिताको कर्तव्य पनि हुन आउँथ्यो । वचन त्यसरी नै र त्यसैमा मात्र सीमित हुन सक्थ्यो । तर भएन ।

यही वचनको दोस्रो तथ्यले भन्छ कि यदि सिद्धार्थले ज्ञान प्राप्त गरेको खण्डमा ऊ घरमा आओस् र उसको पितालाई पनि बताओस्, त्यो सत्य प्राप्त गर्ने विधि सिकाओस् । ताकि त्यो चिज आफूलाई पनि प्राप्त हुन सकोस् । यसबाट थाहा हुन्छ कि आखिर सिद्धार्थको पिता पनि त्यही ज्ञानको भोका रहेछन्, जुन ज्ञानलाई प्राप्त गरेपछि प्राप्त गर्नुपर्ने अरू कुनै ज्ञान बाँकी रहँदैन । त्यही परमज्ञान र त्यही परमसत्य । के कपिलवस्तुका सिद्धार्थ गौतम पनि त्यसैका लागि भौँतारिएर हिँडेका थिए भन्छन् नि होइन र ? किन्तु, कुरो यतिमै सकिएन । पिताले अर्को वचन पनि थपे,

वचन नं। ३– ‘यदि ज्ञान प्राप्त भएन र नैराश्यता पाइस् भने घर फर्केर आएस् फेरि बाबुछोरा मिलेर ईश्वरको आराधना गरौँला १’
अवश्य पनि कुरा वचन नं। २ मै पनि पुरा हुन सक्थ्यो होला तर सिद्धार्थको पिताको हृदय अनन्त आकाशजस्तै रहेछ भन्ने कुरालाई उनले प्रकट गरेको वचन नं। ३ ले दर्साएको छ । यो वचन मार्फत उनले सिद्धार्थको लागि दोहोरै विकल्पलाई खुला राखेको देखिन्छ । यदि ज्ञान प्राप्त भएमा वचन नं। २ अनुसार नै हुने भयो अन्यथा भएको खण्डमा पनि उनको लागि घरको ढोका सदैव खुला रहनेछ र पुनः परम्परा देखि चलिआएको ईश्वरको आराधना बाबुछोरासँगै मिलेर गर्न सक्दछन् । यो हदसम्मको हार्दिकता एउटा पण्डित पिताको मनमा कसरी स्फुरित हुन सक्यो रु म गम्भीर रूपले घोत्लिने गर्छु ।

अवश्य पनि यी तीन वचनहरूमा पुत्रसामु एक पिताले आफ्नो मुमुक्षालाई छताछुल्ल प्रकट गरेका छन् । सत्य, ज्ञान, बोध र बुद्धत्वसँग उमेरको कुनै सरोकार हुँदैन भन्ने कुरा सिद्धार्थको पितालाई राम्ररी थाहा थियो । वेद, पुराण र शास्त्रका ज्ञाता पण्डित पितालाई राम्ररी थाहा थियो कि कसरी बालक सुकदेवका अगाडि अठासी हजार ऋषिहरू जो सुकदेवको उमेरभन्दा दोब्बर तेब्बर र सोभन्दा पनि बढी थिए, जो नातामा उनको पिता, पितामह, काका, मामा आदि इत्यादी पर्दथे तथापि ज्ञान प्राप्तिका लागि शिष्य भावमा शरणागत थिए ।

एउटा पिताले पुत्रलाई दिएको यो हदसम्मको उदात्त वचनले सिद्धार्थ उपन्यासको आध्यात्मिक गरिमालाई निश्चय नै उँचो राखेको छ । अन्यथा ज्ञानको सवालमा पुत्रका सामू एउटा पिताको अहम् कसरी प्रचण्ड अग्नि झैँ उग्र भएर आउँछ भन्ने कुराको उदाहरण अष्टावक्रको जन्म कथाले प्रस्तुत गरेको छ ।

अष्टावक्र आमाको गर्भमा हुन्छन् । अष्टावक्रको पिता वेदपाठ गरिरहेको अवस्थामा गर्भबाटै अष्टावक्रले ज्ञानको चुनौती दिन्छन् । पिताको अहंकारमा ठूलो चोट पुग्छ । आवेशमा आएर पिताले ‘जन्मँदा आठ ठाउँमा बाङ्गिएर जन्मेस्’ भनी श्राप दिन्छन् ।
अर्को उदाहरण, घर छोडेर गएका सिद्धार्थ गौतम ज्ञान प्राप्त भएपछि एक पटक पुनः कपिलवस्तु फर्किन्छन् । सारा देशवासी उनको दर्शन गर्न उर्लेर आउँछन् सिवाय यशोधरा । शुद्धोधनले गौतम बुद्धलाई ‘तैँले मलाई ठूलो चोट दिएको छस् । म तँलाई अझै पनि माफ गर्न सक्छु । आइजा यो राज्य समाल १’ भन्दछन् । पिताको अहंकारलाई देखेर गौतम बुद्ध भन्दछन् ‘म त्यो होइन जो यो दरबार छोडेर गएको थियो, म अर्कै भएर आएको छु । तपाईँ मलाई चिन्न सक्नु हुन्नँ ।’ पिताको अहंकार फेरि बोल्दछ ‘तँ मेरै छोरा होस् । के मैले तँलाई चिन्दिनँ ।’ यसरी पिता शुद्धोधनको अहंकारले जुहारी चलाएको थियो ।

खोज्दै जाने हो भने यस प्रकारका उदाहरणहरू शास्त्रमा मात्र होइन हाम्रै लौकिक जीवनमा पनि अनेक भेटिन्छन् । यस्तै यस्तै उदाहरणहरूका बिचमा सिद्धार्थ उपन्यासको पिताका यी तीन वचनलाई एउटा विहंगम अपवाद बनेर उभिएको मैले पाएको छु । र यसलाई मैले अत्यन्त मूल्यवान वचन ठान्ने गरेको छु ।

अष्टावक्र र सिद्धार्थ गौतमका पिताहरूको तुलनामा उपन्यासमा देखिएका युवा ब्राह्मण सिद्धार्थका पिताको सुझबुझ र उनको आत्म चेत निश्चय नै विशाल र व्यापक रहेको देखिन्छ । यस प्रकारको चेत आजका पिता, भोलिका पिता र अनन्तकाल सम्मका पिता र माताहरूमा होला वा नहोला, खै के होला रु म बेला बखत यस्तै चिन्तनमा डुब्ने गर्छु ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्