nepal ahile circle final NEW

बुटवल-नारायणगढ सडक निर्माण अवधि सकिनै लाग्दा १५ प्रतिशत काम

बुटवल-नारायणगढ सडक निर्माण अवधि सकिनै लाग्दा १५ प्रतिशत काम

लक्ष्मण पौडेल/ बुटवल, ३० फागुन । निर्माणाधीन बुटवल-नारायणगढ सडक निर्माणको अवधि लम्बिने भएको छ ।

अत्यन्तै सुस्त गतिमा काम भएका कारण तोकिएको समयमा सडक निर्माण पूरा नहुने भएको हो । सडक निर्माण सुरु भएको तीन वर्ष नाघिसक्दा १५ प्रतिशत मात्र प्रगति भएको छ ।

जबकि सडक निर्माणको अवधि साढे तीन वर्ष तोकिएको थियो । आयोजना प्रमुख प्रदीप शाक्यका अनुसार कोरोना महामारी, रुख काट्न ढिलाई लगायतका कारणले गर्दा सडक निर्माण लम्बिने अवस्थामा पुगेको हो । ‘अब म्याद थपेर सडक निर्माण कार्य अगाडि बढाउनुको विकल्प छैन,’ उनले भने ।

यो सडक निर्माणको कुल लागत १७ अर्ब रुपैयाँ रहेको छ । एसियाली विकास बैंकले ८५ प्रतिशत रकम उपलव्ध गराउने र बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ । चाइना स्टेट कन्स्ट्रक्सनले निर्माण सुरु गरेको यो सडकको निर्माण दुई प्याकेजमा अगाडि बढाइएको छ । नारायणगढ-दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने–बुटवल ४९ किलोमिटर बन्ने छ ।

दाउन्ने पश्चिमको सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीप शाक्यले हालसम्म यो सडक खण्डमा १५ प्रतिशत मात्रै काम भएको जानकारी दिए ।

इन्जिनियर शाक्यका अनुसार अहिले करिव पाँचसय जना कामदारले साइट क्लियरको काम गरिरहेका छन् । रुपन्देही, नवलपरासी हुँदै चितवनसम्मको ११५ किलोमिटरको यो सडकको काम अहिलेसम्म ८० प्रतिशत सक्पन्न भैसक्नुपर्ने थियो । यो सडक निर्माणमा धेरै रुख काटिएको भन्दै संसदीय समितिले रुख काट्न स्वीकृति दिनेहरुमाथि छानविन गर्न निर्देशन दिएको छ । गलत आँकडा दिएर आयोजनाको काम नै प्रभावित गर्न खोजिएको भन्दै समितिले छानविनको निर्देशन दिएको हो । २०७५ पुसमा ठेक्का सम्झौता भएको यो सडक २०८० साउन २२ सम्म निर्माण सक्नुपर्ने उल्लेख छ ।

तर निर्माण कम्पनीले २०८२ साउनसम्म निर्माण सक्नेगरी पत्र पठाएको आयोजना प्रमुख इन्जिनियर शाक्यले बताए । बुटवलदेखि नारायणगढसम्मको यात्रा साढे दुई घण्टा रहेकोमा अहिले भने ६-*७ घण्टासम्म लाग्ने गरेको यात्रुहरु बताउँछन् । यो सडकमा दैनिक करि सातहजार सवारी साधन ओहोर दोहोर गर्छन् । नवलपुर क्षेत्रमा पनि सडक निर्माणको काम कछुवा गतिमा छ ।

सडकको पुर्वी खण्डका आयोजना प्रमुख रमेशकुमार दृष्टिले यो खण्डमा साढे १२ प्रतिशत मात्र काम सम्पन्न भएको जानकारी दिए । आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणगढलाई फास्टट्रयाक सडकले जोड्ने गरी यो सडक बिस्तारको काम सुरु भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले २०७५ चैत ८ गते बुटवलको राजमार्ग चौराहामा सडक विस्तारको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्